नेकपाका स्थायी समिति सदस्यलाई खामभित्र बिधान


काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीका स्थायी समिति सदस्यहरुलाई खामभित्र राखेर अध्ययनका लागि बिधान उपलब्ध गराएको छ ।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुबैतिर छ । धुम्बाराहीमा केन्द्रीय सचिवालय तथा पेरिसडाँडामा मोर्चा संगठन र केन्द्रीय बिभागको कार्यालय संचालन भइरहे पनि स्थायी समिति सदस्य कमै मात्रमा कार्यालय उपस्थित हुने गरेकाले खामबन्दी गरेर हातहातमै बिधान उपलब्ध गराइएको एक नेताले बताए ।
तल्ला तहका कमिटीको एकीककरणका लागि छिटो बिधान उपलब्ध गराउन नेतृत्वमाथि दबाब परेपछि केन्द्रीय सचिवालयले ४ दिनअघि विधान प्रकाशन गरेको थियो । ‘त्यही प्रकाशन गरिएको विधान प्रत्येक स्थायी समिति सदस्यको नाम बाहिर खाममा उल्लेख गरेर हातहातमै उपलब्ध गराइएको छ ।’ एक स्थायी समिति सदस्यले बताए । तत्कालीन माओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुका लागि एकमुष्ट खामबन्दी गरिएको बिधान पेरिसडाँडास्थित कार्यालयमा पठाइएको थियो । शनिबारको स्थायी समिति बैठकमा कतिपय नेताहरु हातमा बिधान बोकेर सहभागी भएका थिए । कतिपय स्थायी समिति सदस्यहरुले विधानमा आफ्ना सुझाव समेट्नुपर्ने बैठकमा धारणा राखेका थिए । तर, नेता जनाद्र्धन शर्माले भने विधान प्रकाशन गर्ने यसअघि नै निर्णय भइसकेकाले कतिपय छुटेका कुरा नियमावलीमा समेटिने बताए ।

प्रतिक्रिया दिनुहोस्