नेकपाको प्रदेशमा ५४/४६ को शक्तिसन्तुलन, २८ नेता को निकट ?(सूचिसहित)


काठमाडौं, ६ असोज ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी एकीकरण सम्पन्न भएको चार महिनापछि प्रदेश संगठन कमिटीको नेतृत्व टुंगो लगाएको छ । प्रदेश संगठन कमिटीको नेतृत्वमा पूर्व एमालेबाट १५ जना र माओवादीबाट १३ जना नेतालाई जिम्मेवारी दिइएको छ । यसलाई आधार मान्दा प्रदेशको समग्र नेतृत्वमा पूर्व एमाले र माओवादीको ५४÷४६ प्रतिशत शक्तिसन्तुलनको प्रतिनिधित्व भएको छ ।

जसअनुसार सात प्रदेशमध्ये प्रदेश १, २, ३, ४, ५ र ७ नम्बर प्रदेशको इन्चार्ज पूर्व एमाले र ६ नम्बर प्रदेशको ईन्चार्जको जिम्मेवारी पूर्व माओवादीले पाएको छ । पूर्व एमालेका तर्फबाट क्रमश ः भीम आचार्य, सत्यनारायण मण्डल, अष्टलक्ष्मी शाक्य, पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल र भीमबहादुर रावल छन् । माओवादीका तर्फबाट जनाद्र्धन शर्मा ६ नम्बर प्रदेशमा इन्चार्ज तोकिएका छन् । सातै नेता स्थायी समिति सदस्य हुन् ।

सहईन्चार्जमा पूर्व माओवादीबाट ४ र एमालेबाट ३ तोकिएका छन् । जसअनुसार पूर्व माओवादीबाट क्रमश ः १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ र ७ मा लक्ष्मीराज जोशी छन् । पूर्व एमालेबाट प्रदेश ४ मा खगराज अधिकारी, ५ मा दलबहादुर राना र ६ मा यमलाल कँडेल सहईन्चार्ज तोकिएका छन् । उनीहरु केन्द्रीय सदस्य तहका नेता हुन् ।

प्रदेश अध्यक्षतर्फ पूर्व एमालेले ३ र पूर्व माओवादीले ४ ओटा बाँडेका छन् । जसअनुसार पूर्व एमालेबाट १ नम्बरमा देवराज घिमिरे, ६ मा गोरखबहादुर बोगटी र ७ मा कर्णबहादुर थापा तोकिएका छन् । पूर्व माओवादीबाट प्रदेश २ मा प्रभु शाह, ३ मा नारायण दाहाल, ४ मा हितराज पाण्डे, ५ मा ओनसरी घर्ती तोकिएकी छिन् ।

सचिवतर्फ पूर्व एमालेलाई ३ र माओवादीलाई ४ ओटा बाँडफाँट भएको छ । जसअनुसार पूर्व एमालेबाट प्रदेश २ मा सुमन प्याकुरेल, ३ मा आनन्दप्रसाद पोखरेल र ५ मा गोबिन्द नेपाली तथा पूर्व माओवादीबाट प्रदेश १ मा सुरेश राई, ५ मा जगप्रसाद शर्मा, ६ मा मायाप्रसाद शर्मा र ७ मा मेटबहादुर चौधरी सचिव बनेका छन् । अध्यक्ष र सचिव तोकिएका नेताहरु केन्द्रीय सदस्य छन् ।

को कसको निकट ?
नेतृत्वमा ओली–नेपाल १०÷३, प्रचण्ड–बादल ८÷४, वामदेव–नारायणकाजी २÷१

नेकपाको प्रदेश संगठन कमिटीको नेतृत्वमा अध्यक्ष केपी ओली हाबी देखिएका छन् । उनी निकट १० नेताले जिम्मेवारी पाएका छन् । जसअनुसार इन्चार्जको जिम्मेवारी पाएका सत्यनारायण मण्डल, पृथ्बीसुब्बा गुरुङ र शंकर पोखरेल, सहईन्चार्जको जिम्मेवारी पाएका खगराज अधिकारी, अध्यक्षहरु क्रमश ः देवराज घिमिरे, गोरखबहादुर बोगटी र कर्णबहादुर थापा, सचिवहरु क्रमश ः आनन्दप्रसाद पोखरेल, गोबिन्द नेपाली, सुमन प्याकुरेल अध्यक्ष ओली निकट हुन् ।
त्यस्तै, अर्का अध्यक्ष प्रचण्ड निकट ८ जनाले जिम्मेवारी पाएकोमा इन्चार्ज जनाद्र्धन शर्मा, सहईन्चार्ज हितबहादुर तामाङ, अध्यक्षहरु नारायण दाहाल, प्रभु शाह, हितराज पाण्डे र ओनसरी घर्ती तथा सचिवहरु सुरेश राई र जगप्रसाद शर्मा उनी निकट छन् ।

त्यस्तै,  वरिष्ठ नेता माधवकुमार नेपाल तीन जना अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल र भीम आचार्यले ईन्चार्जको जिम्मेवारी पाएका छन् । पूर्व एमालेतर्फ ओली र नेपालबाट ३÷३ जना ईन्चार्ज भए पनि बाँकी नेतृत्वमा रहेका भने कोही पनि नेपाल निकट होइनन् ।

केन्द्रीय सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ निकट ४ जनाले जिम्मेवारी पाएका छन् । जसअनुसार सहईन्चार्ज सावित्रीकुमार काफ्ले र लक्ष्मण जोशी तथा सचिवहरु मायाप्रसाद शर्मा र मेपबहादुर चौधरी उनी निकट छन् ।

त्यस्तै, सचिवालय सदस्य वामदेव गौतम निकट दुई जना यमलाल कँडेल र दलबहादुर रानाले सहईन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का नेता नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ शाहले जिम्मेवारी पाएका छन् ।

नेपाल, बादल र श्रेष्ठ समूह असन्तुष्ट

सचिवालयबाट परिमार्जित मापदण्डका आधारमा तल्ला कमिटीको नेतृत्व टुंग्याउनुपर्ने नेता नेपाल, झलनाथ खनाल, बादल र नारायणकाजी श्रेष्ठले अडान राख्दै आएका थिए । तर, अहिले नेपाल र श्रेष्ठ विदेश भ्रमणमा रहेकै बेला बिना मापदण्ड प्रदेशको नेतृत्व टुंग्याइएको भन्दै ती निकट नेताहरुमा असन्तुष्टि छाएको छ । दुवै पार्टीको साविकको कमिटीमा वरिष्ठतामा अगाडि रहेकालाई नेतृत्वमा प्राथमिकता दिनुपर्ने उनीहरुले अघिल्लो सचिवालय बैठकमा अडान राखेका थिए ।
प्रदेश नम्बर १ मा अध्यक्ष तथा ४ र ५ मा मुख्यमन्त्रीलाई नै ईन्चार्जको जिम्मेवारी तोकिएकोमा नेता नेपालसहित उनीहरु असन्तुष्ट बनेका हुन् । सरकारको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकालाई नै पार्टीमा पनि कार्यकारी जिम्मेवारी दिने कुराले न्यायोचित जिम्मेवारी बाँडफाँट नभएको र महत्वपूर्ण नेताहरु अवसरबाट वञ्चित भएको उनीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्