नेकपाको बाईस जनसंगठनको नेतृत्व र नाम टुंग्याउने ‘तनाव’


काठमाडौं, २८ जेठ । नेकपाद्वारा गठित कार्यदलहरुले भातृ संगठनहरुको एकताको छलफल प्रक्रिया अघि बढाएलगत्तै नाम र नेतृत्वमा रस्साकस्सी सुरु भएको छ । एकताका लागि गठित २२ कार्यदलमध्ये धेरैजसो कार्यदलले भातृ संगठनको एकताको खाका तयार पार्नेगरी छलफल सुरु गरिसकेका छन् । कतिपय कायर्दलका सदस्यले भने व्यस्तताको कारण जनाएर छलफल नै सुरु गरेका छैनन् ।
एकताको छलफल सुरु भएलगत्तै एकीकरणपछि बन्ने संगठनको नाम, संख्या र संरचना तथा नेतृत्वलाई लिएर दुवैतर्फका भातृ संगठनहरुमा बहस र छलफल अघि बढेको छ । युवा, विद्यार्थी, किसान, मजदुर, महिला, पेशागात लगायतका प्रभावशाली भातृ संगठनमा नेतृत्व हत्याउने ‘अघोषित रस्साकस्सी’ नै सुरु भएको छ । तर, नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषालले कार्यदललाई केन्द्रीय कमिटीको पदाधिकारी र संख्यासहितको प्रस्ताव सुझावका रुपमा प्रतिवेदनमा पेश गर्ने कार्यदेश दिइएकाले उनीहरुले नै छलफलबाट टुंगो लगाएर केन्द्रीय सचिवालयमा पेश गर्ने बताए । कार्यदललाई केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गर्न गत ७ जेठमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्कूलर गरेका थिए । तीन महिनाभित्र सबै जनवर्गीय संगठन र पार्टी कमिटीको एकता सम्पन्न गर्ने नेकपाको तयारी छ ।

 

कार्यदललाई नै नाम, नेतृत्व टुंग्याउने कार्यदेश
जनसंगठन एकीकरणका लागि गठित कार्यदललाई एकीकरणबाट गठन हुने सम्बन्धित जनसंगठनको विधान मस्यौदा गर्ने, सम्मेलन वा महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरुको नामावलीसहित प्रस्ताव तयार पार्ने कार्यदेश दिइएको छ । त्यस्तै, कमिटीको पदाधिकारी र सदस्यको छनोट गर्दा बरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनेलगायतका कार्यदेश दिइएको छ । एकीकरणअघि सम्बन्धित जनसंगठनको केन्द्रीय कमिटी बैठक बोलाएर सुझाव लिन पनि निर्देशन गरिएको छ ।

नाम र नेतृत्वको विवाद हाइकमाण्डबाट छिनोफानो
भातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायतका सबै विषय टुंगो लगाउने कार्यदेश दिइए पनि विवाद देखिए केन्द्रीय सचिवालयले नै अन्तिम टुंगो लगाउने भएको छ । अहिल्यैदेखि नेतृत्वका लागि रस्साकस्सी देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अबस्था आउनसक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, मूल कुरा नेतृत्वमा बढि प्रतिस्पर्धा देखिदाँ कार्यदलमा सर्बसम्मत टुंगो लाग्न सकेन भने अध्यक्षद्वयले नै छलफलबाट सबै विषय टुंगो लगाउनुहुन्छ ।’ ती सदस्यले भने ।

तत्कालीन माओवादीको जनसंगठन आठ गुणासम्म ठूलो
केन्द्रीय कमिटीको आकार ४ हजारसम्म पु¥याएको तत्कालीन माओवादी केन्द्रको जनसंगठनहरुको केन्द्रीय कमिटीको संख्या तत्कालीन एमालेको जनसंगठनको तुलनामा आठ गुणासम्म ठूलो आकारका छन् । उदाहरणका लागि तत्कालीन एमालेको पेशागत महासंघ नेपालको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने तत्कालीन माओवादीको पेशागत संगठन ८ सय ५० सदस्यीय छ । इन्जिनियरिङ संगठनको केन्द्रीय कमिटीको आकार बराबरी रहे पनि बाँकी सबै भातृ संगठनहरु ततकालीन एमालेको तुलनामा माओवादीको धेरै ठूला छन् । तर, नेकपाका स्थायी समिति सदस्य भुषालले आकार ठूलो या सानो जे भए पनि नयाँ विधानका आधारमा कार्यदलले एकीकरण प्रक्रिया अघि बढाउने भएकाले खासै ठूलो समस्या नहुने दाबी गरे । तत्कालीन माओवादी नेता मणी थापाले पछिल्लो कालमा तत्कालीन पार्टीमा निरन्तर जुट–फूटको अबस्थाको इतिहास देखिएकाले जनसंगठनहरुको आकार पनि ठूलो हुनु स्वभाविक भएको बताए । ‘पहिले माओवादी सांगठनिक रुपमा व्यबस्थित त नभएकै हो तर हामी जनतामा त्यति कमजोर थिएनौं, किनभने कम्युनिष्ट भए पनि कांग्रेस जस्तो मास बेस्ड भइसकेका थियौं ।’ थापाले भने ।
पुच्छर हटाएर २२ जनसंगठन बन्ने
नेताहरुले पार्टीको भातृ संगठनहरुको नाममा रहेका पुच्छर हटाएर एकता गर्ने बताउँदै आएका छन् । तत्कालीन माओवादीको पूर्व जनमुक्ति सेना(पूर्व पिएलए)को संगठनलाई भूतपूर्व सैनिक–प्रहरी संगठन तथा जनयुद्ध र जनक्रान्तिका घाइते तथा अपांगता रहेकाहरुको संगठनलाई एउटै अपांग संगठनमा मिलाउने तयारी छ । तत्कालीन एमालेका २२ तथा माओवादी केन्द्रका २४ जनवर्गीय संगठन थिए ।

प्रतिक्रिया दिनुहोस्