नेकपाको स्थायी समितिको पहिलो बैठकमा तनाव, प्रदेश र जिल्लाको संख्यामा तीब्र असन्तुष्टि


काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठकमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित संख्यालाई लिएर स्थायी समिति सदस्यहरुले  तीब्र असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणसहितका चार एजेण्डामा छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा नेताहरुले कम संख्या प्रस्ताव गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारे ब्रिफिङ, एकता कार्यदलले गरिरहेका कामबारे महासचिव विष्णु पौडेलको ब्रिफिङ, अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को सम्बोधन, पार्टीको नियमावली छलफलको एजेण्डा थियो । तर, केही स्थायी समिति सदस्यहरुले पार्टी केन्द्रीय कमिटी चाँही ४ सय ४१ सदस्यीय जम्बो बनाउने, तल्ला प्रदेश र जिल्ला कमिटी भने २ सयसम्म पनि नपुग्ने सानो बनाउनेगरी विधानमा व्यबस्था गर्दा एकता अघि बढाउन धेरै कठिनाई हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
कार्यदलमा रहेका नेताहरु भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, जनाद्र्धन शर्मा, देबेन्द्र पौडेललगायत आधा दर्जन स्थायी समिति सदस्यहरुले संख्या कम हुने भन्दै प्रश्न उठाएपछि १० दिनभित्र सुझाव पठाउन निर्देशन दिँदै १५ दिनभित्र नियमावली पारित गर्ने कुरामा ‘थामथुम’ पारेर अध्यक्षद्वयले बैठक समापन गराएका थिए । अहिले प्रदेश संगठन कमिटीमा न्युनतम १ सय ७५ सदस्यीय तथा जिल्ला कमिटी न्युनतम १ सय २५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । तर, दुवै पार्टी मिलाउँदै त्यो संख्या कम हुने र अधिवेशनबाट निर्बाचित भएर आएकाहरुलाई हटाउन असम्भव हुने धारणा राखेका थिए । ‘संख्याका बारेमा केही कुरा उठेको थियो, तर यो पक्षलाई पनि ध्यान दिएर विधान र नियमावलीका विषयमा १० दिनभित्र आवश्यक सुझाव दिन सक्ने बैठकले निर्णय गरेको छ ।’ स्थायी समिति सदस्य देबेन्द्र पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्