नेकपाको २२ जनसंठनमा नेतृत्वका लागि ५० भन्दा बढीको अन्तिम दौड


काठमाडौ, २४ भदौ । नेकपाको जनवर्गीय संगठनमा नेतृत्वका लागि ५० भन्दा बढीको दौडले नेताका घरमा भिड लागेको छ । नेकपाको जनवर्गिय संगठनमा संयोजक र पदाधिकारीका लागि भनसुन र सिफारीस गराउन नेकपाका सचिवालय, स्थायी समिति र केन्द्रिय नेताहरुको घरमा जनबर्गिय संगठनका नेताहरुको भिड लागेको हो । कार्यदलले सहमतिमा नाम पठाउन नसकेपछि केन्द्रबाटै नेतृत्व टुंगो लाग्ने भएपछि २२ जनसंगठनमा नेतृत्वका लागि ५० भन्दा वढी संगठनका नेताहरू लबिङमा लागेका हुन् ।‘जनवर्गीय संगठनको संयोजकसहित पदाधिकारी, संगठनको नाम र झन्डा एकता कार्यदललाई नै टुंगो लगाएर पठाउन निर्देशन दिएपनि नेतृत्वमा दावी गर्नेको भिड लागेपछि सहमति हुन नसक्दा स्थाई समितिले नै टुंगो लगाउने गरी सिफारिस गरिएको थियो। यही भदौ १६ र १७ गते नेकपाको स्थायी समितिको बैठकले नेतृत्व घोषना गर्ने भनिएको भएपनि समितिको बैठक वस्न नसक्दा लविङको लागि नेताहरुले समय पाएका छन् । अझै स्थायी समिति बैठक कहिले वस्ने अन्योलमा रहेको छ ।

अनेरास्ववियुमा तत्कालीन एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट उपाध्यक्षहरू रश्मी आचार्य, सुनिता बराल, सैलेश लामा, महेश बर्तौला र महासचिव ऐन महरले दाबी गरेका छन् भने, तत्कालीन माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्ष रञ्जित तामाङ एकीकृत विद्यार्थी संगठनको संयोजकका लागि लबिङमा लागेका छन् । संगठनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, दीपक देवकोटा, पञ्चा सिंह र महासचिव उत्तम अधिकारी लगायतले पनि संयोजक दाबी गरेका छन् ।
त्यसैगरी युवा संगठनको अध्यक्षमा एमालेबाट रमेश पौडेल र माओवादीवाट रामप्रसाद सापकोटा ‘दिपशिखा’अन्तिम दौडमा रहेका छन् ।
त्यसैगरी मजदुरमा तत्कालीन एमाले निटक मजदुर अध्यक्ष विनोद श्रेष्ठ र माओवादी मजदुर अध्यक्ष गणेश रेग्मीले एकीकृत संगठनको संयोजक दाबी गरेका छन् । मजदुर संगठनमा तत्कालीन माओवादीको पकड भएकाले एकीकृत संगठनको नेतृत्व दाबी गरेको छ भने ठूलो पार्टी भएकाले तत्कालीन एमालेको दाबी छ ।
त्यसैगरी महिला संगठनमा संयोजकका लागि तत्कालीन एमालेबाट राधा ज्ञवाली, सीता पौडेल, गोमा देवकोटा तथा तत्कालीन माओवादीबाट उर्मिला अर्याल र अमृता थापामगर लबिङमा छन् ।

त्यसैगरी प्रेस संगठनमा प्रेस चौतारीबाट पूर्वअध्यक्ष गगन विष्ट, अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई तथा प्रेस सेन्टर नेपालबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्षद्वय बलराम थापा, ओम शर्मा र महासचिव विष्णु सापकोटा ‘जुगल’ले लविङ गरिरहेका छन् ।
अखिल नेपाल किसान महासंघको संयोजकमा वामदेव गौतम, प्रेम दंगाल, केशवलाल श्रेष्ठ, हरिबोल गजुरेल र चित्रबहादुर श्रेष्ठको नाम चर्चामा छ ।
नेपाल दलित मुक्ति संगठनको संयोजकका लागि तिलक परियार, दलजित श्रीपाइली र बमबहादुर विश्वकर्माले संयोजकमा दाबी गरेका छन् ।
नेपाल बुद्धिजीवी संघको संयोजकका लागि प्रा.डा. गणेशमान गुरुङ र डा. दिनेशचन्द्र देवकोटा लबिङमा छन् ।
जनसांस्कृतिक महासंघको संयोजकमा खगेन्द्र राई र सरल सहयात्रीले दाबी गरेका छन् । राई तत्कालीन एमाले र सरल सहयात्री माओवादी निकट हुन् ।
मुस्लिम इत्तिहात मोर्चाको संयोजकमा पूर्वअध्यक्ष सराज अहमत फारुखी र अतहर हुसेनले दाबी गरेका छन् । फारुखी तत्कालीन एमाले र हुसेन तत्कालीन माओवादी निकट हुन् ।
त्यसैगरी राष्ट्रिय पेसागत महासंघ नेपालका संयोजकका लागि विश्वनाथ प्याकुरेल र प्रेमल खनालले दाबी गरेका छन् ।

त्यसैगरी सर्वसम्बत सिफारीस भएका जनसंगठमा मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल छानिएका छन् । शाही तत्कालीन एमाले र पोखरेल माओवादीनिकट हुन् । नेपाल कानुन व्यवसायी संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस गरिएको छ । नेपाल तत्कालीन एमाले र पोखरेल माओवादी निकट हुन् । यीहरुको एकता घोषना हुन भने वाँकी रहेको छ । २२ संगठनमध्ये प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालले भने संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली सहित एकता घोषणा गरिसकेका छन् । श्रेष्ठ तत्कालीन एमाले र पराजुली तत्कालीन माओवादी निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्