नेकपामा धमाधम सर्बसम्मत जिल्ला अध्यक्ष छानिदैं,कहाँ–को ? (सूचिसहित)


काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण कार्यदलले धमाधम प्रतिवेदन बुझाएसँगै जिल्ला अध्यक्षहरु सर्बसम्मत चुनिदैं गएका छन् । अहिलेसम्म डेढ दर्जनभन्दा बढि जिल्लामा जिल्ला तहमै सर्बसम्मत अध्यक्ष चुनिएका छन् ।

जिल्ला र प्रदेश तहमा सर्बसम्मत हुन नसकेको हकमा भने एकीकरण कार्यदलले पूर्व एमाले र पूर्व माओवादीको कुन जिल्लामा कसको नेतृत्व हुने टुंग्याएर नाम महासचिव विष्णु पौडेललाई बुझाइरहेका छन् । कतिपय कार्यदलले भने संख्या मात्रै टुंग्याएर जिल्ला र प्रदेशको नेतृत्व केन्द्रीय सचिवालयले नै टुंग्याउनेगरी जिम्मा लगाएका छन् ।

यद्यपि, समग्रमा अन्तिम निर्णय भने केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबाट हुनेछ । यसका लागि नेकपाले ८ र ९ भदौमा स्थायी समिति बैठक बोलाइसकेको छ । प्रदेश नम्बर ३ र ४ को एकीकरण कार्यदलले आईतबार प्रतिवेदन बुझाएको छ ।

प्रदेश नम्बर ३ का १७ जिल्ला कमिटीमध्ये पूर्व एमालेले १० र माओवादीले ७ लिनेगरी बाँडफाँट गरेर एकीकरण कार्यदलले महासचिव विष्णु पौडेललाई आज प्रतिवेदन बुझाएको छ । पूर्व एमालेले भूगोलका जिल्लाहरुमध्ये काठमाडौंमा रामशरण ढुंगना, मकावनपुरमा बद्री लम्साल, धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्णेल लामा, सिन्धुपाल्चोकमा झम्क नेपाल, दोलखामा भीम दाहाल, ललितपुरमा हरिकृष्ण ब्यञ्नकारको एकल नाम अध्यक्षमा सिफारिश गरेको छ ।

यी जिल्लाहरुमा पूर्व एमालेका तर्फबाट नेतृत्व हुनेगरी सर्बसम्मत नाम टुंगिएको छ । भक्तपुरमा पूर्व एमालेले लिने समझदारी भए पनि विवादका कारण नाम सिफारिश भएको छैन ।

उता, पूर्व माओवादीले नेतृत् वगर्ने काभ्रेमा सूर्यमान दोङको नाम सिफारिश भएको छ । चितवन, सिन्धुली, रामेछाप र नुवाकोटका साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व पूर्व माओवादीले लिनेगरी कार्यदलमा सहमति भएको छ । त्यस्तै, पूर्व एमालेले विशेष जिल्ला कमिटीतर्फ उद्योगी व्यवसायी र पेशागत विशेष जिल्लाको नेतृत्व पाउनेगरी कार्यदलले प्रतिवेदन बुझाएको छ ।
उता, गण्डकी प्रदेशले पूर्व एमाले र पूर्व माओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूचि बुझाएको छ । प्रदेश र जिल्लाको संख्यात्मक हिस्सेदारी टुंगो लगाएर एकीकरण कार्यदलले सहमतिमै केन्द्रीय सचिवालयबाटै दुबै तर्फबाट जिल्ला अध्यक्ष र सचिवका दाबेदारहरुको नाम बुझाएको हो ।
कार्यदल सदस्य किरण गुरुङकाअनुसार प्रदेशका ११ मध्ये गोर्खाबाहेक बाँकी जिल्लामा पूर्व एमालेको संख्यात्मक हिस्सेदारी बढि रहनेछ पूर्व पार्टीकातर्फबाट कम्तीमा ४३ देखि बढिमा ५७ प्रतिशतसम्मको हिस्सेदारी रहेको बुझिएको छ ।
पूर्व एमालेले गोर्खामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लम्जुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम अध्यक्षमा सिफारिश गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुबेदी, नवलपुरमा दिपक अधिकारी, जीवन श्रेष्ठ, स्याङजामा रामचन्द्र भट्टराई, कृष्ण खाँण र उदय श्रेष्ठको नाम अध्यक्षमा सिफारिश भएको छ ।

प्रदेश ७ मा कर्ण थापा अध्यक्ष र सचिवमा लक्ष्मणदत्त जोशी

प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्नेगरी अध्यक्षमा कर्णबहादुर थापाको नाम सिफारिश भएको छ । एकीकरण कार्यदलले सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत्त सिफारिस गरेको छ । थापाले पूर्व एमाले र जोशीले पूर्व माओवादीको प्रतिनिधित्व गर्छन् । १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहनेछन् । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडीको अध्यक्ष पूर्वएमाले तथा बझाङ, डडेल्धुरा, दार्चुला र कञ्चनपुरको अध्यक्ष पूर्वमाओवादीले लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्