नेकपामा सभामुखसहित प्याकेजमै सहमतिको गृहकार्य


काठमाडौँ, १२ पुस । सत्तारुढ नेकपा प्रतिनिधिसभाको सभामुखसहित अन्य पदमा प्याकेजमै ‘डिल’ गर्ने गृहकार्यमा लागेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सभामुख, उपसभामुख र रिक्त मन्त्रालय प्याकेजमा टुंग्याउने तयारीमा जुटेको हो ।

सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी समूहबीच तानातान भएपछि समग्र प्याकेजमा हल गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागेका छन् । सभामुख, उपसभामुख र रिक्त मन्त्रीका सम्बन्धमा प्याकेजमै हल गर्ने गरी राजपासँग छलफल अघि बढाएको नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । ‘राजपासँग राष्ट्रिय सभामा तालमेल गरिसकेका छौँ । उपसभामुखसहित सरकारमा ल्याउन विभिन्न तहमा छलफल थालेका छौँ,’ नेता गजुरेलले नयाँ पत्रिकासँग भने, ‘राजपासँगको छलफलबाट टुंगो लागेपछि अरू विषयमा आन्तरिक गृहकार्य गरेर टुंग्याउँछौँ ।’ अहिले सभामुख कुन समूहले पाउने भन्दा पनि राजपालाई कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको गजुरेलको भनाइ छ ।

तर, नेकपा महासचिव विष्णु पौडेलले भने राजपासहित अन्य शक्तिलाई समेटेर प्याकेजमा हल गर्ने गरी शीर्ष तहमा छलफल नभएको दाबी गरे । ‘सभामुख, उपसभामुखमा कसलाई ल्याउने र उपसभामुख शिवमाया तुम्बाहाङफेको व्यवस्थापन टुंगो लाग्न सकेको छैन,’ महासचिव पौडेलले भने, ‘राजपासहित शक्तिलाई प्याकेजमा समेट्ने गरी प्रधानमन्त्रीज्यू र पार्टी अध्यक्ष प्रचण्डसँग छलफल भएको छैन ।’

त्यस्तै, राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले आफूहरूकहाँ प्याकेजमा डिल गर्ने गरी नेकपासँग औपचारिक–अनौपचारिक प्रस्तावै नआएको प्रतिक्रिया दिए । राष्ट्रिय सभामा तालमेल गरेपछि बाहिर त्यस्तो शंका उपशंका देखिएको बताउँदै उनले भने, ‘नेकपाले हामीसँग औपचारिक रूपमा प्रस्ताव गरेपछि मात्रै त्यसबारे आफने प्रतिक्रिया दिन्छौँ । अहिले नै हामी यसबारे टीका–टिप्पणी गर्दैनौँ ।’ राजपाले मधेस आन्दोलनमा लागेकाको मुद्दा फिर्र्ता, रेशम चौधरीको रिहा र संविधान संशोधन गर्ने सर्तसहित सरकारमा जाने तयारी गरेको छ । नेकपासँग उधारो सम्झौता गरेर सरकारमा नजाने राजपाको आन्तरिक तयारी छ ।

सभामुख नहुँदा संसद् प्रभावित
प्रतिनिधिसभा तीन महिनादेखि सभामुखविहीन छ । सभामुख नहुँदा संसद्का कामकारबाही प्रभावित भएको नेकपा प्रमुख सचेतक देव गुरुङले बताए । संसद्बाट पारित भएका पाँच विधेयक सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रियामा लग्न नसकिएको उनले बताए ।

त्यस्तै, संसदीय समितिहरूको अवलोकन भ्रमण, समितिमा विवाद हुँदा संसद्मै छलफल हुने भएकाले सभामुख नहुँदा समस्या भएको छ । अरू संसद्मा हुने  नियमित कामकारबाहीसमेत प्रभावित भएको उनको भनाइ छ । संविधानले उपसभामुखलाई लामो कार्यबाहक तोक्ने व्यवस्था नगरेकाले लामो समय सभामुख चयन नहुँदा राम्रो सन्देश नजाने उनको जिकिर छ ।

सभामुख नछाड्न प्रचण्डमाथि दबाब 
नेकपामा पूर्वमाओवादी समूहले प्रतिनिधिसभाको सभामुख पद नछोड्न प्रचण्डमाथि दबाब बढाएका छन् । सभामुख पूर्वएमाले समूहलाई दिएको भन्ने विषय बाहिर आउन थालेपछि पूर्वमाओवादी समूहका नेताहरू दबाब दिन थालेका हुन् । ‘सभामुख पूर्वएमाले समूहलाई छोडिएको छैन । बाहिर तथ्यहीन समाचार आइरहेका छन्,’ नेता गजुरेलले भने, ‘सभामुख एमाले–माओवादी भागबन्डा भन्ने प्रश्न नै आउँदैन । पूर्वमाओवादी नेताहरूमध्येबाटै सभामुख बन्नुहुन्छ ।’

सभामुखका लागि तत्कालीन माओवादीबाट नेता अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसालले दाबी गरेका थिए । सभामुखको विषय पेचिलो हँुदै गएपछि पूर्वमाओवादीबाट सापकोटा र पूर्वएमाले समूहबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई अघि सारिएको छ । आफूलाई प्रधानमन्त्री ओली र प्रचण्डले सभामुख बन्न आग्रह गरेको नेम्वाङले नयाँ पत्रिकासँगको कुराकानीमा बताएका थिए ।

उपसभामुखको व्यवस्थापन नहुँदा राजीनामा ढिलाइ
उपभामुख डा.शिवमाया तुम्बाहाम्फेले उचित व्यवस्थापन नहुँदा राजीनामा दिन ढिलाइ गरेकी छिन् । उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो कुरा राखिसकेकी छिन् । संसद्को पाँचौँ अधिवेशनअघि २ पुसमा प्रधानमन्त्री ओलीलाई र ३ पुसमा अध्यक्ष प्रचण्डलाई भेटेकी थिइन् ।

दुवै अध्यक्षसँगको भेटमा डा. तुम्बाहाम्फेले पहिलो अडानको रूपमा सभामुख नभए मन्त्री पाउनुपर्ने माग गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय भने उनले भेट्न पाएकी छैनन् । उपसभामुखबाट राजीनामा दिएपछि आफ्नो व्यवस्थापन कहाँ हुने भन्ने विषयमा स्पष्ट नभएपछि राजीनामा दिन ढिला गरेको जनाइएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्