नेकपाले बनायो ११ अनुच्छेद र ३३ दफाको नियमावली, सचिवालयभन्दा स्थायी समिति शक्तिसाली


काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ११ अनुच्छेद र ३३ दफा भएको नियमावली बनाएको छ । विधानलाई प्रष्ट पार्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले त्यस्तो नियमावली तयार पारेको हो । कार्यदलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नियमावली र विधानको मस्यौदा बुझाएको स्थायी समिति सदस्य बेदुराम भुषालले बताए ।
नियमावलीमा साधारण, मानार्थ र संगठितसहित तीन प्रकारको सदस्य रहने प्रस्ताव गर्दै तत्कालीन एमाले र माओवादी केन्द्रका सदस्यहरुले ६ महिनाभित्र सदस्यता नविकरण गराइसक्नुपर्ने व्यवस्था गरिएको छ । साधरण सदस्यता शुल्क २० र संगठित सदस्यता शुल्क १ सय रुपैयाँ प्रस्ताव गरिएको छ । तत्कालीन एमाले र माओवादीले उठाउँदै आएको लेबिमा ५ गुणा वृद्धि गर्दै मासिक लेबी प्रस्ताव गरिएको हो ।

सचिवालयभन्दा स्थायी समिति शक्तिसाली
सबैभन्दा माथि दुई अध्यक्ष रहेको ९ सदस्यीय केन्द्रीय सचिवालय रहे पनि विधानले स्थायी समितिलाई शक्तिसाली कमिटीको रुपमा प्रस्ताव गरेको छ । सचिवालयलाई दैनिक कार्यसम्पादन गर्ने प्रशासनिक निकायमा सिमित गर्दै स्थायी समितिलाई सबैभन्दा माथिल्लो शक्तिसाली राजनीतिक निकायका रुपमा प्रस्ताव गरिएको भुषालले जानकारी दिए । सचिवालयले केन्द्रीय कार्यालय संचालन, बैठकको कार्यसूचि बनाउने र प्रतिवेदनको तयारी गर्ने काम गर्नेछ भने सबै महत्वपूर्ण राजनीतिक निर्णयहरु भने स्थायी समितिबाटै हुनेगरी विधानको मस्यौदा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्