नेकपा अध्यक्ष ओली र प्रचण्डको आग्रह : वार्ताबाट समस्या समाधान गर


काठमाडौं, २८ बैशाख । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाल र भारत सरकारलाई विगतका सहमतिका आधारमा कूटनीतिक तहमा सीमासम्बन्धी संवाद थाल्न सुझाब दिएका छन् । भारतसँग राजनीतिक र कूटनीतिक तहमा संवाद गर्नुपर्ने उनीहरूको सुझाब छ ।

‘अहिले भारतले लिएको एकपक्षीय कदम दुई देशबीच शीर्ष तहमा भएको समझदारीका आधारमा वार्ताबाट सीमाविवाद समाधान गर्ने नेपालको बारम्बारको अनुरोधको विपरीत हो,’ अध्यक्षद्वयको वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी नेपाल सरकार र भारत सरकारलाई तुरुन्तै कूटनीतिक माध्यमबाट समस्या समाधानको पहलकदमी लिन आग्रह गर्न चाहन्छ । ’

अध्यक्षद्वयले नेपाल सरकारले यस सम्बन्धमा लिएको कदमको स्वागत पनि गरेका छन् । ‘त्यस क्षेत्रमा भएको सडक निर्माण कार्य तत्काल रोक्न र यो विषय भविष्यमा थप जटिल हुनेतर्फ कुनै पनि यस्ता कार्य नगर्न नेकपा भारतलाई सुझाब दिन चाहन्छ,’ वक्तव्यमा भनिएको छ । कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्नुपर्ने यसवेला भारतले सडक निर्माण गरेर उद्घाटन गर्नु दुःखद कार्य भएको पनि उनीहरूले उल्लेख गरेका छन् ।

सार्वभौम समानता, भौगोलिक अखण्डता, आपसी सम्मान र हितका सिद्धान्तका आधारमा नेपाल र भारतबीचको सम्बन्ध हुनुपर्नेमा नेकपाले जोड दिएको छ । ऐतिहासिक दस्ताबेजका आधारमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएकोसमेत अध्यक्षद्वयले वक्तव्यमा उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्