नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ उपविदेशमन्त्री वाङ वाजुनबीच भेटवार्ता


काठमाडौ, १४ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डले बताए ।भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले आफुले उठाएको कनेक्टिभिटीको कुरा अहिले कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए । प्रचण्डको भनाइ उद्धृत गर्दैै उनको सचिवालयले भनेको छ, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ ।’

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ दिए ।
वाङले दुई कम्युनिस्ट पार्टीबीच एकता भएको र स्थायी सरकार बनेकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपालले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने विश्वाससमेत व्यक्त गरे ।

नेपाल चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको बताउँदै वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो समेत दिए ।
वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्