नेकपा (एमाले) ले नै स्थानीय चुनाव गर्न चाहेको छैनः सभापति देउवा


१८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गरेका छन् ।

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि बनेपामा आयोजित कार्यक्रममा उनले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाए ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती कांग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताए । ‘भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ,’ उनले भने ।

नेता देउवाले नेकपा (एमाले) ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताए ।

उनले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्