नेकपा सचिवालय बैठकमा बालुवाटारको जग्गा छानबिन गर्न माग


काठमाडौ,१७ बैशाख । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणले सत्तारुढ नेकपा सचिवालयमा औपचारिक प्रवेश पाएको छ । सरकारको आगामी नीति तथा कार्यक्रमबारे सुझाब लिन प्रधानमन्त्रीनिवासमा डाकिएको बैठकमा नेताहरूले जग्गा प्रकरणमा मुछिएका महासचिव विष्णु पौडेलमाथि छानबिनको माग गरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले महासचिव विष्णु पौडेलको नाम जोडिएकाले बालुवाटार जग्गा प्रकरणमा पार्टीले संस्थागत धारणा बनाउनुपर्ने माग गरे ।

पोखरेलले महासचिवजस्तो व्यक्तिको नाम बालुवाटार जग्गा प्रकरणमा निरन्तर जोडिँदा पार्टीसमेत मुछिएको र उनी एक्लैले प्रतिवाद गर्नुपर्ने स्थिति देखिएको भन्दै छिटो संस्थागत धारणा बनाएर छानबिन हुनुपर्ने विचार राखेका थिए । उनले पौडेलको नाम मुछिएको सम्बन्धमा पार्टीले नै छानबिन गर्नुपर्ने आशयसहितको धारणा राखेको सचिवालयका एक नेताले बताए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्