नेकपा सचिवालय बैठक बस्दै, एमसीसी र गोकुल प्रकरण मुख्य एजेण्डा


काठमाडौं, १० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज (शनिबार) अपरान्ह बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बस्न लागेको हो । वैठकमा हिजो एमसीसी कार्यदलले बुझाएको सुझाव प्रतिवेदन र पार्टी कार्यकर्तामा देखिएको विचलनको विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । आजको सचिवालय वैठक एमसीसी र गोकुल बाँस्कोटाको विवादित अडियो टेपको विषयमा छलफल हुने जनाइएको छ ।

यस विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवलपरासीको एक कार्यक्रममा बोल्दै जानकारी गराएका छन् । अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने र दोषी कसैको पार्टीले संरक्षण नगर्ने स्पष्ट पारिसकेका छन् ।

उनले भनेका छन्, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा दोषीलाई कारबाहीको हुनैपर्छ । एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा करोडौंको कमिसनमा मुछिएपछि नेकपाभित्र आर्थिक अनुशासनको विषयमा चर्को बहस शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्