नेकपा ३ नम्बर प्रदेशको यस्तो छ चौमासिक कार्ययोजना


काठमाडौ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर ३ संगठन कमिटिको पहिलो बैठकले प्रदेश कमिटिको चौमासिक कार्ययोजना पारित गरेको छ । नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहालको अध्यक्षतामा सो बैठकले विभिन्न चौमासिक कार्ययोजना पारित गरेको हो । प्रदेश कमिटीको चौमासिक कार्ययोजना अन्तर्गत असार मसान्तभित्रै पार्टी कमिटी एकता, गठन, शुद्धढीकरण र परिचालन गरिने छ । कमिटीको नियमित बैठक ४ महिनामा गर्ने र सचिवालय बैठक आवश्यकता अनुसार बोलाइने पनि बैठकको निर्णयमा उल्लेख छ । यस्तै जेठ १५ गते बस्ने कमिटीको बैठकले प्रदेश सदस्यको कार्यविभाजन, सचिवालय गठन लगायतका काम टुंग्याउने सचिव आनन्द पोखरेलले बताए । यस्तै वैशाख मसान्तभित्र नेकपा ३ नम्बर प्रदेशका स्थानीय तहको पार्टी एकीकरण, संगठन सुद्धृढीकरण गरिसक्ने सचिव पोखरेलले जानकारी दिए । कार्यालय व्यवस्थापनमा एकीकृत कार्यालय स्थानीय तहसम्म सञ्चालन गर्ने, पार्टी सदस्यता एकिकरण र अभिलेखिकरण गर्ने निर्णय समेत भएको छ । यस्तै जनवर्गीय संगठनको प्रशिक्षण असार मसान्तसम्म सम्पन्न गरिसक्ने पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्