नेता मिल्दा काँग्रेस कार्यालयमा गमला हानाहान


गएको मंसिर २६ गते बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेका थिए । पौडेल र सिटौला समूहले बहिष्कार गरे पनि गएको पुस ११ गते सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको कार्यकाल एक वर्ष थप्दै १४औं महाधिवेशनको मिति तय गरे ।

सभापति देउवाले एक्लौटी रुपमा महाधिवेशनको मिति तोके पछि असन्तुष्ट समूहले लगातार विरोध जनाउँदै आएका थिए । यी दुई समुहले असन्तुष्टि बीच सभापति देउवाले विभागको संख्या २८ बाट बढाएर ४७ बनाएका थिए ।

तर, सभापति देउवाले असन्तुष्ट समूहसँग विघटित नेवि संघको पदाधिकारीमा भागबण्डा गर्दै सहमति गरेको छ । नेवि संघमा देउवा र पौडेल समूहले तीन–तीन र सिटौला समूहबाट दुई गरी आठ महामन्त्री बनाउनेगरी सहमति जनाएका छन् ।

सहमति पछि महाधिवेशनको कार्यतालिका समेत परिवर्तन गरिएको छ । एक वर्षभित्रै महाधिवेशन गरिसक्ने गरी कार्यतालिका परिवर्तन गरिएको छ । तर, सोमबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्दैगर्दा बाहिर भने नेवि संघका कार्यकर्ता बीच झडप भएको छ ।

झडपका क्रममा गमला नै हानाहान भएको थियो । पूर्व महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा विरोध जनाउँदै आएका छन् । उनीहरुले नेवि संघमा ३२ वर्षे उमेर हद तोक्ने विधानको व्यवस्था तोडिएकोमा आपत्ति जनाउँदै आएका छन् ।

देउवा, पौडेल र सिटौलाले उमेर हद हटाउँदै भागबण्डामा सहमति जनाएका थिए ।

यस्तो छ, परिवर्तित महाधिवेशन कार्यतालिका
क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि– २०७६ फाल्गुण देखि २०७६ चैत मसान्तसम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेठ १५ गतेभित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेठ मसान्तभित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरीरपुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
(छ) उजुरी र पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ साउन १५ गतेभित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ साउन २५ गतेभित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ साउन मसान्तभित्र ।
यसैगरी पार्टीका तल्लो तहको अधिबेशको कार्यतालिका पनि परिमार्जन गरेको छ। जस अनुसार
(क) गाउँरनगर वडा अधिवेशन– २०७७ कात्तिक १६ गते
(ख) गाउँरनगरपालिका अधिवेशन– २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन -२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्