जनकपुरमा भारतीय राष्ट्रपतिलाई अभिनन्दन गर्ने तयारी


२ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक यही १९ गते जनकपुर भ्रमणमा आउने तयारी भएपछि अहिले त्यहाँ भव्य तयारी थालिएको छ ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा मुखर्जी नेपाल आउन  लागेका हुन्। नेपाल भ्रमणका क्रममा मुखर्जीले जानकी मन्दिरको पनि भ्रमण गर्ने भएपछि त्यहाँ त्यस्तो स्वागतको तयारी गरिएको हो । मुखर्जीको भ्रमणको तयारी र स्वागतका लागि त्यहाँ सर्वदलीय बैठकको समेत आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिन सर्वसाधारणलाई घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्न निर्देशन नै दिने भनिएको छ ।

यता जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । मुखर्जीले जनकपुरसँगै, लुम्बिनी र पोखरा भ्रमण पनि गर्ने तयारी छ ।
आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउने मुखर्जीले केही योजनाको शिलान्यास समेत गर्ने कार्यक्रम छ । उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्