कोशी, गण्डक वा नारायणी नदीमा जल यातायात सञ्चालन बारे छलफल


काठमाडौं, ३१ असार । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आईतबारबाट काठमाडौंमा सहसचिवस्तरीय छलफल सुरु भएको हो ।

नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात सञ्चालन हुनेगरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए । उनले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको बताए ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफलपछि नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो ।

सहसचिवस्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि भएको छ । जल यातायात सञ्चालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले बताए ।

२ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी भएका छन । बैठकमा भारतीय पक्षले नेपालको तराई क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्न पनि भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्