नेपालको राजनीतिमा बाहुवली नयाँ खिलराज रेग्मीको खोजी भैरहेको छः ईश्वर पोखरेल


१८ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले राजनीतिमा पुनः गैरदलीय पात्रहरू खडा गर्ने षड्यन्त्र हुन थालेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नम्बर–५ मा आफैँले दसैँ, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले संविधानलाई निष्प्रभावी बनाउने षड्यन्त्र सुरु भएको समेत आरोप लगाए  ।

‘संवैधानिक प्रावधान अनुरूप गर्नुपर्ने निर्वाचन हुन नदिने खेल प्रारम्भ भैसकेको छ,’ उनले भने ‘संविधान कार्यन्वन हुन नदिन अहिले पनि धम्कीपूर्ण राजनीतिक ऐलान दिने क्रम जारी छ ।’ उनले त्यस्तो शक्ति विगतमा संविधान जारी गर्न नदिन सक्रिय भएको दाबी गरे ।

त्यसखालको षयड्न्त्रमा कुन–कुन दल र नेता कठपुतली हुने हुन भनी उनले शंका समेत व्यक्त गरे । उनले संवैधानिक रिक्तता खडा गरेर नयाँ खिलाराजहरू जन्माउने खेलको आरम्भ भएको समेत टिप्पणी गरे । ‘त्यस्तो पात्र राजनीतिक रंग पोतिएको पनि हुन सक्ने खतरा छ,’ उनले भने ‘मैले खिलराज रेग्मीजीको कुनै आलोचना गरेको होइन, राजनीतिक पार्टीहरु हुँदाहुँदै उनीहरुलाई पन्छाएर नयाँ खिलराजको खोजीगर्ने योजनाको आलोचना गरको हुँ ।’

उनले नयाँ खिलराजको खोजी गरिरहँदा अलि–अलि राजनीतिक रंग पोतिएको हुनसक्ने वा बाहुवली खिलराज पनि हुनसक्ने आशंका व्यक्त गरे ।   उनले नेपाली जनतामाथि फेरि एउटा अर्का छुट्टै नाटक मञ्चनको तयारी भएको भन्दै एमालेले त्यसलाई परास्त गर्ने दाबी गरे ।  एमालेको मिशन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन भएको भन्दै त्यसमा दायाँबायाँ नहुने पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्