नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र पत्ता लगाएँः बाबुराम भट्टराई


२० पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र पत्ता लगाएको दाबी गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपाल कास्कीले आयोजना गरेको ‘घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने दाबी गरे ।

‘नयाँ शक्ति पार्टी यसैको पक्षमा लागेको छ,’ उनले भने, ‘यो प्रणाली लागू  भयो भने भ्रष्टाचारको अन्त्य हुन्छ ।’ उनले राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको भन्दै भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने दाबी गरे ।  उनले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा पनि जोड दिए ।

उनले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेस गरे ।
पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको पनि दाबी गरे  ।

प्रतिक्रिया दिनुहोस्