नेपालबाट मधेसलाई विभाजन गर्न सक्छौँ तर भारतसँग विलय हुँदैनौँः महन्थ ठाकुर


१२ माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दुई राष्ट्रियता अहिले नै रहेको दाबी गरेका छन् । पहिलो न्युज डटकमसँग कुराकानी गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘पहाडको कला, संस्कृति रीति–रिवाज एक खालको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार साँझ प्रमुख तीन दलका कारण नेपालबाट मधेस विभाजन नहोस् भनी धम्कीपूर्ण अभिव्यक्ति दिएका ठाकुरले भने, ‘मधेसको अर्को खालको छ । अहिले पनि त्यही त देखिएको छ नि ?’

उनले केन्द्रिकृत सत्ताले सबैको हितमा काम गर्न नसकेको अवस्थामा अलग राज्य जन्मिनुलाई अन्यथा ठान्न नमिल्नेसमेत चेतावनी दिए । ‘राज्यसत्ताले सबैलाई सन्तुष्ट बनाउन सकेन, उनीहरुका माग सम्बोधन हुन नसक्दा अलग राज्य जन्मिनु स्वाभाविक हो,’ उनले भने,  ‘अहिलेका शासकहरुका पूर्खा खोज्ने हो भने भारतका विभिन्न स्थानबाट आएको देखिन्छ त्यसैले दोष हामीलाई लगाएर होइन समस्या कसरी समाधान गर्ने भन्ने तर्फ लाग्न जरुरी छ ।’

उनले मधेसी जनता इतिहासदेखि उपेक्षित हुँदै आएको भन्दै लोकतन्त्रमा पनि उपेक्षित भएपछि अधिकार खोजेको दाबी गरे । ‘घरमा खान पुगेन भने बाहिर रोजगारीमा जानुपर्छ । अहिले दैनिक एक हजार भन्दा बढी युवा देशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीमा गएको हामीले देखेकै छौँ,’ उनले उदाहरण प्रस्तुत गर्दै भने,  ‘आफ्नै सीमा भित्र भूमिपुत्रले उपेक्षित हुनु पर्यो भने आफ्नो हक–अधिकार  खोज्नु स्वाभाविक हो । घरबाट निरन्तर अपहेलित भइयो भने म आफै गरिखान्छु । अलग बस्छु भन्न किन नपाउनु ? मैले त्यही भनेको हो ।’

उनले आफूहरुलाई भारतसँग विलय हुन पहाडबाट अलग हुने एजेण्डा ल्याएको भन्दै भ्रम फैलाउने काम गरेको भन्दै आक्रोससमेत व्यक्त गरे । ‘हामी उपेक्षित भएर  सीमाभित्रै बस्छौँ तर भारतसँग विलय हुँदैनौँ,’ उनले भने, ‘हामी भारतसँग विलय हुने कुरा समुन्द्रमा नदी मिसिए जस्तै हो । हामी हाम्रो अस्तित्व नै मेटाउने पक्षमा छैनौँ ।’ उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित प्रस्तुत गर्नुपर्ने र जसरी पनि पारित हुनुपर्ने जिकिर गरे । नभए आन्दोलमा जाने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्