नेपालमा सिद्दान्तमा पिएचडी गर्ने भुषाल पहिलो नेता


काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य बेदुराम भुषालले ‘‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’’ शीर्षकमा विधावारिधि(पिएचडी) उपाधि हासिल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले भुषाललाई उक्त विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको हो । नेकपाभित्र दर्शनशास्त्रका ज्ञाताको परिचय बनाएका भुषालले पञ्चायतकालमा बर्य संघर्षमा करिब १३ वर्ष जेल जीवन बिताएका थिए । उनी तत्कालीन एमालेमा आठौं महाधिवेशनपछि केही समय पार्टी स्कूल विभागका प्रमुखसमेत थिए । नेकपामा उनलाई पार्टी नेतृत्वले नीति, विधान जस्ता महत्वपूर्ण कार्यसम्पादनमा मस्यौदाकारका रुपमा अघि सार्दै आएको छ ।
‘नेपालको राजनीतिक इतिहासमा सिद्दान्तका बारेमा अहिलेसम्म खोज अनुसन्धानबाट विद्यावारिधि प्रदान भएको रहेनछ’, भुषालले पहिलो न्यूजसँग भने,‘त्यसैले त्रिविविले मलाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सिद्दान्तका बारेमा शोध गर्ने व्यक्तिका रुपमा विद्यावारिधि प्रदान गर्नेगरी निर्णय गरिएको जानकारी गराएको छ ।’
उनले आफूले शोधमा स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्दान्तको दार्शनिक, ऐतिहासिक आधार, उद्भव, विकास र विशेषताबारे खोज अनुसन्धान गरेको बताए । ‘पार्टी एकतासम्म जबजको योगदान र यसका मूल मान्यतालाई कसरी अबलम्बन गरियो भन्ने विषयलाई पनि मैले शोधमा प्रस्तुत गरेको छु ।’ भुषालले भने । दर्शन, कम्युनिष्ट आन्दोलन, जबजलगायतका विषयमा उनका केही पुस्तकसमेत प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्