नेपालमै नजन्मिएका र बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गर्न मिल्दैनः माधव नेपाल


२० पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले देश विखण्डन गर्ने र देश टुक्र्याउने धम्की दिनेहरुलाई निगरानी गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले पुस २२ गते एमालेसहितका नौ दलले गर्ने जनप्रदर्शनको सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा यस्तो बताएका हुन् । ‘देश विखण्डन गर्ने र देशलाई टुक्र्याउने धम्की दिदाँ पनि हाम्रो देशमा नियन्त्रण गर्ने प्रयास हुँदैन,’ उनले भने, ‘हामी यस्तो विडम्बना भोग्न बाध्य छौँ ।’

नेपालले देश टुक्र्याउने र विखण्डन गर्ने धम्की दिनेहरुलाई कांग्रेस र माओवादीले संरक्षण दिएको समेत आरोप लगाए । ‘यस्ता धम्की दिनेहरु सरकारमा रहेका कांग्रेस र माओवादीले नियन्त्रणमा लिने प्रयास गर्दैनन्,’ उनले भने,  ‘यस्तो कुराको चिन्ता एमालेलाई मात्र छ । देशको चिन्ता भएको पार्टी एमाले मात्रै हो ।’

सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट बचायो

नेपालले सर्वोच्चको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरे । ‘सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ । हामी सर्वोच्चको निर्णयको स्वागत गर्छौ,’ उनले भने, ‘संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर पाँचलाई टुक्र्याउने र देशलाई द्वन्द्वको चक्रव्यूहमा फसाउने षडयन्त्र भएको थियो । त्यसलाई सर्वोच्चको निर्णयले रोकेको छ ।’ उनले सर्वोच्चको फैसला एमालेको पक्षमा भएको पनि दाबी गरे । उनले एमालेले उठाएका एजेण्डा ठीक भएको प्रमाणित सर्वोच्चले गरेको पनि दाबी गरे ।

आलाकाँचा प्रचण्डलाई सम्झाउन देउवालाई सुझाव

प्रधानमन्त्री प्रचण्ड आलोकाँचो प्रवृत्तिको भएको भन्दै नेपालले उनले गरेका गल्ती रोक्न कांग्रेस सभापति शेरवहादुर देउवाले भूमिका खेल्नु पर्ने बताए । ‘प्रचण्डजीको कदम गलत छ । राष्ट्रहित विपरीत छ,’ उहाँले कसैको इशारामा गरेको गल्तीलाई पटक–पटक प्रधानमन्त्री भएका र निकै अनुभव हासिल गरेका देउवाले रोक्नुपर्छ । म उहाँलाई त्यही आग्रह गर्छु ।’ देउवालाई तमासा हेरेर नबस्न पनि आग्रह गरे ।

संशोधन होइन, कार्यान्वयनतिर लागौँ

नेपालले अहिले संविधान संशोधन गर्ने बेला नभएको भन्दै कार्यान्वयनतिर जानु पर्नेमा जोड दिए । ‘यो समय संविधान संशोधनको होइन, कार्यान्वयनको हो,’ नेपालले भने, ‘तर प्रचण्डजीहरु किन त्यतातिर लाग्नुभएको छ मैले बुझेको छैन ।’

उनले संविधान कार्यान्वयनका लागि कानुन बनाउने, निर्वाचनसँग सम्बन्धित निकायलाई पूर्णता दिनेतिर लाग्न सरकारसँग आग्रह गरे । ‘एमालेले खोजेको निर्वाचन हो, प्रधानमन्त्री होइन,’ उनले भने, ‘हामी निर्वाचनमा जाऔँ, जे परिणाम आउँछ त्यो स्वीकार गर्न तयार छौँ । ’

बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गर्न मिल्दैन

नेपालले आफू रौतहट क्षेत्र नम्बर–१ बाट संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएको भएको स्मरण गर्दै भने–‘म मधेसको धर्तीपुत्र हुँ । मैले बोलेको मधेसको मुद्दा हुन्छ । मेरो पुस्ताहरु मधेसमै जम्मे, मधेसमै हुर्के । बाउबाजेकै ठेगान नभएकाले मधेसको मुद्दा यो हो भन्न मिल्दैन ।’
उनले नेपालमै नजन्मिएका र बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गरेको भन्दै त्यो गलत भएको टिप्पणी गरे ।  ‘मधेसका जनताले अहिले सीमांकन हेरफेर चाहेका छैनन्,’ उनले भने, ‘म त्यहाँको धर्तीपुत्र हुँ । मलाई मधेसका जनताको चाहना के–हो थाहा छ । उनीहरु समृद्धि चाहन्छन् । निर्वाचन चाहन्छन् । रोजगारी चाहन्छन् ।’

केपी बोल्दा माधव चुप भन्ने समाचार गलत

नेपालले केही सञ्चार माध्ययमले पार्टी अध्यक्ष केपी ओली अहिले संविधान संशोधनका विपक्षमा बोल्दा माधव नेपाल चुप लागे भनेर गलत समाचार लेखेको अरोप लगाए । ‘रौतहट, पर्सा, बारा गएर बोलेको उनीहरुले थाहा पाएनछन्,’ उनले भने, ‘सिमरामा बोले, त्यहाँबाट काठमाडौँ आउन नभ्याउँदै तपाईँहरु (प्रेस चौतारी)ले बोलाउनु भयो । अहिले बोलिरहेको छु । के चुप लागेको हो ?’

संशोधन प्रस्ताव फिर्ता लिए सहमति

उनले सरकारले सर्वोच्चको आदेशपछि अब संशोधन प्रस्ताव फिर्ता लिएर सहमति गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले उपाध्यक्ष एवं प्रदेश नम्बर–३ संयोजक अष्टलक्ष्मी शाक्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्