नेपाललाई १० लाख डोज कोभिड खोप दिने चीनका राष्ट्रपति सीको घोषणा


काठमाडौं, १२ जेठ । चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार समकक्षी सीलाई फोन गरी नेपाललाई आवश्यक कोरोना खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा भएको जानकारी गराएकी छिन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराएकी हुन्। राजदूत होउले लेखेकी छिन्, ‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् ।’

बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्