नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छन, हस्तक्षेप स्वीकार्य छैनः माधव नेपाल


२० कात्तिक । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो नेपालको राजनीतिमा आवश्यक नभएको बताएका छन् । साझा प्रकाशनले प्रकाशित गरेको साहित्यकार राम विनयको कथा संग्रह ‘घर बिनाको घर’ को विमोचन गर्दै यस्तो बताएका हुन् ।

उनले मुलुक भित्रको  समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने दाबी समेत गरे । ‘नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छन्,’ उनले भने, ‘अब अरुको हस्तक्षेप होइन हामी मुलुक बनाउन लाग्नुपर्छ  । उनले मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएको भन्दै अब देश आर्थिक क्रान्तितर्फ लाग्नु पर्नेमा पनि जोड दिए । उनले स्रष्टाहरुले पनि त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्ने उनको सुझाव थियो ।

नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने खतरा आउन नहुने भन्दै त्यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समालोचकद्वय डा दयाराम श्रेष्ठ र जगत् उपाध्याय, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालगायतले पनि बोलेका थिए । शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धताबमोजिम ऋण र अनुदान गरी संस्थालाई रु ४० करोड प्राप्त भएमा लिलामीबाट जोगाउन सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्