नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला नै उत्रिए प्रदेश विभाजन विरुद्ध


२१ मंसिर । ५ नम्बर प्रदेशलाई छुट्याउने विषयमा सत्तारुढ दलभित्रै तीव्र मतभेद देखिएको छ । नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र केही केन्द्रीय नेताहरुबीचको मतभेद सार्वजनिक भइसकेको छ । तर, नेपाली कांग्रेसभित्र पनि मतभेद चुलिँदै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन पारित भएरै छाड्ने कुरा बताइरहेकै बेला सोही पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले भने फरक मत अघि सारेका छन् । मंगलबार मात्रै नवलपरासी पुगेका महामन्त्री कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् । उनी नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित सांसद पनि हुन् ।

केही दिन भारत घुमेर फर्किएका महामन्त्री कोइरालाले नवलपरासीको एउटा कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा उनले यस्तो कुरा बताएका हुन् । महामन्त्री कोइरालाले भने, ‘पार्टीको बैठकले यसबारे कुनै निर्णय गरेको छैन र छलफल भएको पनि मलाई जानकारी छैन ।’

‘जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन’ उनले भने, ‘पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो ।’ महामन्त्री डा कोइरालाले बताए, ‘प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्याे, त्यो हुन सकेन ।’

महामन्त्री कोइरालाले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिएका थिए । भारतको मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताए ।

ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताउँदै डा कोइरालाले भने ‘सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ ।’ पार्टी्भित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उनले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी पनि दिए ।

यसअघि, जापानमा रहेकै बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनभावना विपरीत प्रदेश टुक्र्याउन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्