नेपाली कांग्रेसबाट सरकारमा जाने मन्त्रीको सूची तयार


६ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सरकारमा पठाँउने मन्त्रीको  सूची तयार पारेका छन्।

नेपाल विद्यार्थी संघको महाधिवेशन सकिए पछि देउवाले सरकारमा पठाउने नेताको सूची टुंगो लगाएका हुन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग छलफलपछि थप नाम प्रधानमन्त्रीलाई बुझाउने उनको तयारी छ। आगामी बुधबारसम्म सबै मन्त्री सरकार पठाइसक्ने कांग्रेसको योजना छ।

देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्कापक्की भएको छ। केसीले शिक्षा, महतले परराष्ट्र, खाँणले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि गृह मन्त्रालय नपाएपछि सरकारमा जान नमानेका केसी अहिले शिक्षा मन्त्रालय सम्हाल्न तयार भएका छन्।

त्यस्तै, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केशवकुमार बुढाथोकी र नवीन्द्रराज जोशी पनि मन्त्री बन्ने भएका छन्। महामन्त्री शशांक कोइरालाबाट अर्को नाम प्रस्ताव नभए दीपक गिरी पनि मन्त्रिपरिषद्मा विस्तारमा समेटिनेछन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट गगनकुमार थापा र भीमसेनदास प्रधानमध्ये एक जना सहभागी हुनेछन्। यादव, जोशी र गिरी पौडेलनिकट हुन्। नेता पौडेलले मन्त्रिपरिषद् विस्तारमा आफूसँग छलफल नगरिएको भन्दै गुनासो गर्दै आएका थिए।

महतले परराष्ट्र मन्त्रालय छाड्न तयार भए नेता शेखर कोइराला उक्त जिम्मेवारीसहित सरकारमा सहभागी हुनेछन्। ‘मंगलबार साँझ वा बुधबार बिहानसम्म पार्टीका थप मन्त्री सरकारमा सहभागी हुनेछन्,’ स्रोतले भन्यो, ‘सभापतिजीले तयार गरेको खाका यही हो।’

प्रतिक्रिया दिनुहोस्