नेपाली दूताबास प्रयोग गरेर नयाँ सरकार बनाउन गोप्य भेट र लबिङ


३१ असार । केपी ओली नेतृत्वको सरकारका विरुद्धमा भारतीय संस्थापन पक्षसँग लबिङ गरेको अभियोगमा दुई महिना पहिला भारतको राजदूतबाट बर्खास्त गरिएका दीपकुमार उपाध्याय नेपालमा ओली सरकार संकटमा परेपछि खुसीसाथ दिल्लीमा दौडधुपमा व्यस्त छन् ।

आफूलाई फिर्ता बोलाउने सरकार ढल्न लागेकोमा खुसी भएका पूर्वनेपाली राजदूत उपाध्यायले सरकारका विरुद्धमा लबिङ गर्न र नयाँ सरकार गठनका लागि भारतीय शक्ति केन्द्रहरुसँग गोप्य कुराकानी गर्नका लागि नेपाली दूताबास नै प्रयोग गरिरहेका छन् । राजदूतको निवासमै बसेर उनले दूताबासकै गाडी प्रयोग गरिहेको स्रोतले जानकारी दिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूताबास स्रोतका अनुसार, उपाध्यायले विहीबार विहान ५१ सीडी ७ नम्बरको गाडी प्रयोग गरेर दौडधुप गरेका थिए भने बेलुकी ५१ सीडी ३ नम्बरको गाडी प्रयोग गरेका थिए । उक्त स्रोतले भन्यो, कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, हामीलाई थाहा भएन । तर, दूतबास भवन र गाडी प्रयोग गरिरहनुभएको छ ।

यसैबीच, उपाध्यायले नयाँ सरकार बनेपछि राजदूतका रुपमा आफैँ दिल्ली फर्किने योजना बनाएका छन् । श्रीमती आरजु राणको स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमतीकै उपचारको निहुँ पारेर अख्तियारमा झुन्डिरहेको भ्रष्टाचारको मुद्दा मिलाइदिन भारतीय सहयोग खोज्दै पुगेका माओवादी नेता कृष्णबहादुर महराबीच दिल्लीमा कुराकानी गराउन र भारतीय शक्ति केन्द्रसँग उनीहरुको संयुक्त भेट गराउन सक्रिय भएका उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि बाह्रखम्बास्थित नेपाली दूताबास नेतृत्वविहीन छ । अब माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने र त्यसले आफूलाई नै राजदूतका रुपमा दिल्ली पठाउने संकेत उनले त्यहाँस्थित नेपाली दूताबासका कर्मचारीदेखि भारतीय अधिकारीलाई पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्