नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने


काठमाडौँ,१२ असार । एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका दौरानमा टोलीले थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप ९किङ्स कप० मा पनि सहभागिता जनाउनेछ ।

च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ । किङ्स कपमा सहभागी हुने खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगीता सुनार ५७ केजी र पुनम रावल ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ । त्यस्तै पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् भने भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दीपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन, टोली व्यवस्थापकमा दिलीपाश्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।

सदस्य सचिव केशवकुमार विष्टले एशियन गेम्समा पदकको आशा गरिएको खेललाई तीन महिनाअघिबाटै विशेष प्रशिक्षण गराउन शुरु गरिएको बताए । उनले विशेष प्रशिक्षण सबै खेलका लागि आवश्यक रहेको बताउँदै यसपटकको एशियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्