नेपाली सेना जनताको सेना–प्रधानसेनापति क्षेत्री


१९ साउन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताको विषयमा जनताको साथमा रहेको बताएका छन् ।

पवित्र तीर्थस्थल देवघाटमा आज आयोजित बोलबम मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली सेना सबै जनताको सेना भएको भन्दै सेनापति क्षेत्रीले राष्ट्रको स्वाधीनता र हितविपरीत काम हुन नदिने बताए । जनताको साथमा काम गर्नका लागि सेना तयार रहेको उनको भनाइ थियो ।

देवघाट संरक्षण प्रतिष्ठान चितवनद्वारा आयोजित सो मेलाकै अवसरमा देवघाटमा निर्माण गर्न लागिएको ३० फिट अग्लो शिव मूर्तिको समेत उनले शिलान्यास गर्नुका साथै शिवको मन्दिरमा पूजा आराधनासमेत गरेका थिए।

मूर्ति रु ३० लाखको लागतमा निर्माण गर्न लागिएको हो । सो अवसरमा बोल्दै उनले देवघाटमा हुने यस्ता मेला महोत्सवले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताए ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, समाजसेवी मैयादेवी श्रेष्ठ, डा हेमराज कोइराला, महेश सन्यास आश्रमका गुरु प्रसाद सुवेदीलगायतले बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्