नेपाल ‘एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे


१४ मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको साङ्सी प्रान्तका उप–गभर्नर याओ यिनलियाङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले यस्तो बताएका हुन् । उनले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने बताए ।

भेटका अवसरमा मन्त्री पाण्डेले विसं २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए  । भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुर्ननिर्माणमा चीनले गरेको सहायताप्रति धन्यवाद प्रकट गर्दै उनले नेपालको विकासक्रममा चीनको सहयोग सरहानीय रहेको बताए ।  भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँगको सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्रिने बताए ।  साङ्सी चीनमा सबैभन्दा बढी बौद्धमार्गी रहेको प्रान्त हो भने चीनका वर्तमान राष्ट्रपति सिजीङ पीङको गृहनगर पनि हो ।

प्रतिक्रिया दिनुहोस्