नेपाल कम्युनिष्ट पार्टीले दियो ४ सय ४१ केन्द्रीय कमिटीलाई पूर्णता


काठमाडौ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ४ सय ४१ केन्द्रीय कमिटीमा तात्कालिन एमालेबाट २ सय ४१ र माओबादीबाट २ सय जना छन् । प्रधानमन्त्रीको सरकारी निवासमा सोमवार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४ सय ४१ केन्द्रीय कमिटीले पूर्णता पाएको हो।
त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।
उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।
उनका अनुसार आज गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिने छन् ।

प्रतिक्रिया दिनुहोस्