नेपाल कम्युनिष्ट पार्टीको नाम फेरिदैं, ‘अण्डरलाईनबाट’ नयाँ नाम–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


काठमाडौं, १६ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीले अन्ततः पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकताबाट नवगठित नेपाल कम्युनिष्ट पार्टीले नाम फेर्नेगरी प्रक्रिया अघि बढाएको हो ।
गत ३ जेठमा तत्कालीन एमाले नेता सुवास नेम्बाङ र तत्कालीन माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी एकता घोषणासभाअघि नेपाल कम्युनिष्ट पार्टी नामको तलतिर अण्डरलाईन गराएर पार्टी दर्ता गराएका थिए । ऋषी कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि तत्कालका लागि नेताहरुले त्यस्तो जुक्ति लगाएका थिए । तर, नामको तलतिर अण्डरलाईन राम्रो नदेखिने र बोलिचालिको भाषामा नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईन भनिने सम्भावना रहेका कारण अन्तत ः नाम फेर्न लागिएको हो ।
पार्टीको नाम फेर्नका लागि विहिबार नेकपाका उपनेता नेम्बाङ र प्रमुख सचेतक देव गुरुङ निवेदन लिएर निर्वाचन आयोग जाने भएका छन् । पार्टीको नयाँ नाम–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहनेगरी आयोगमा पुन ः निवेदन दिन लागिएको उपनेता नेम्बाङले वुधबार संसद भवन नयाँ बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा सांसदहरुलाई जानकारी गराएका छन् । यससँगै अब निर्वाचन आयोगले निर्णय गरेपछि नवगठित पार्टीको नाम–नेपाल कम्युनिष्ट पाटी(नेकपा) हुनेछ । अर्थात, नयाँ नाममा अण्डरलाईन हटेर पार्टीको नामका पछाडि ‘ब्राकेट’मा नेकपा राखिनेछ ।
बैठकमा दलका उपनेता सुवास नेम्बाङले आम जनता, बुद्धिजीवी, नागरिक समाजको सुझाव तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जन गर्न विहिबार आयोगमा निवेदन दिन लागिएको सांसदहरुलाई जानकारी गराएका थिए ।
‘हामीले हतारमा अन्डरलाईन राखेर दर्ता गराएका थियौं तर यसबारे फेरि धेरै छलफल ग¥यौं, जनताका तर्फबाट, बुद्धिजीवी, नागरिक समाजका तर्फबाट सुझाव पनि लियौं, अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीको पछाडि (नेकपा) रहनेगरी आयोगलाई सच्याउन आग्रह गर्ने निर्णयमा पुगेका छौं’, बैठकमा उपनेता नेम्बाङले भने । आयोगले पार्टीको नामका बारेमा औपचारिक छानबिनपछि अन्तिम निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्