नेपाल छाड्नु अघि मुखर्जीले भने– ‘नेपालको विकास र शान्तिको यात्रामा भारत सहकार्य चाहन्छ’


१९ कात्तिक । तीन दिने राजकीय भ्रमणका लागि नेपाल आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् ।

भ्रमणको अन्तिम दिन जनकपुरपछि पोखरा पुगेका मुखर्जीले यस्तो बताएका हुन् । नेपाली भारतीय भूतपूर्व सैनिकलाई पोखरामा सम्बोधन गर्दै मुखर्जीले भने– ‘नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्छ ।’

पोखराको रमणीय दृष्यबाट खुशी भएका मुखर्जीले पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताए । मुखर्जीले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण पनि गरे ।

भारतमा ३२ हजार गोर्खा सैनिक सेवारत रहेको र अरु लगभग एक लाख २६ हजार पूर्वसैनिक र तिनका आश्रित नेपालमा पेन्सनको लाभ लिएको पनि उनले बताए ।

पूर्वगोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका साथ काम गरेको चर्चा गर्दै उनले भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको बताए ।  ‘भारतीय सेनाका वीर पूर्वसैनिक र उनका आश्रित जनप्रति हामी आभारी छौँ,’ उनले भने । मुखर्जी शुक्रबार भारत फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्