नेपाल प्रहरी देशको गौरव होः प्रधानमन्त्री प्रचण्ड


२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरी राज्यको आन्तरिक सुरक्षाको मेरुदण्ड र देशको गौरव भएको बताएका छन् । नेपाल प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्रीले भने– ‘नेपाल प्रहरी राज्यको आन्तरिक सुरक्षाको मेरुदण्ड हो, देशको गौरव हो ।’
उनले नेपालको आन्तरिक सुरक्षा, विपद व्यवस्थापन र उद्दार, भूकम्पपछिको उद्दार, राहत र पूनर्बास एवं आफ्नो कर्तव्य पालनाको सिलसिलामा नेपाल प्रहरीले गरेको योगदानले सिङ्गो राष्ट्र गौरवान्वित भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले कानुनी राज्यको पालना र मानव अधिकारको संरक्षणका क्षेत्रमा प्रहरीले गरेको योगदानको चर्चा गर्दै भने– ‘कानुनी राज्यको पालना, मानव अधिकारको संरक्षण, शान्ति र सुव्यवस्थाका लागि नेपाल प्रहरीले खेलेको भूमिका उल्लेखनीय छ ।’
उनले भावी दिनमा पनि नेपाल प्रहरीबाट संविधानको कार्यान्वयनको चरणमा राज्यलाई पूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । उनले त्यसका लागि आवश्यक पर्ने साधन स्रोतका लागि सरकार जुनसुकै सहयोग गर्न तयार रहेको पनि बताए ।
समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले देशको शान्ति सुरक्षामा खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीको आजीवन कार्यजीवी सम्मानबाट पूर्वप्रहरी महानिरीक्षक श्यामभक्त थापालाई सम्मान गरिएको थियो भने नेपाल प्रहरीका कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्