नेपाल र मलेसियाबीच श्रम समझदारी, मलेसिया जाने नेपालीले कुनै शुल्क तिर्नु नपर्ने


काठमाडौ, १२ कात्तिक । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।
लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।
यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्