नेपाल सम्वत् नेवारहरुको मात्र होइनः प्रधानमन्त्री प्रचण्ड


११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल थानकोट–कालङ्कीको सडक अब छिट्टै फराकिलो हुने बताएका छन् । आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘सरकार संविधान संशोधनसँगै कार्यान्वयन, भूकम्पको पूर्ननिर्माण र सुशासनका लागि क्रियाशील रहेको छ,’ उनले भने, ‘थानकोट–कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको छ ।’

कार्यक्रममा बोल्दै नेपाल सम्वत्लाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिएको भन्दै उनले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प पनि गरे । ‘नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन, सारा नेपालीको सम्वत् हो,’ उनले भने, ‘यो नेपालको मौलिक सम्वत् पनि हो । अघिल्लो कार्यकालमा मैले यसलाई राष्ट्रिय सम्वत् घोषणा गरें । यसपटक हामी सबै मिलेर यसलाई व्यवहारमा उतार्ने संकल्प गरौं ।’

कार्यक्रममा शंखधर साख्वा सामाजिक न्यायका अभियान्ता भएको स्मरण गर्दै प्रचण्डले भने– ‘शंखधरले जनताको ऋणमोचन गर्नुभएको थियो । उहाँको यो काम नेवारहरुका लागि मात्रै नभएर त्यतिबेलाको सन्दर्भमा सामाजिक न्यायका क्षेत्रमा ठूलो अभियान थियो ।’

प्रतिक्रिया दिनुहोस्