नेम्बाङ उपनेता, गुरुङ प्रमुख सचेतक, शर्मा राष्ट्रियसभाको नेता


काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा संसदीय दलको उपनेता सुबास नेम्बाङ हुने भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच पूर्वसभामुखसमेत रहेका नेम्बाङलाई प्रतिनिधिसभा संसदीय दलको उपनेता बनाउने समझदारी भएको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि दुई अध्यक्ष नेम्बाङसँगै प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउन सहमत भएका हुन् । तत्कालीन एमालेबाट पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रमुख सचेतक थिए । गुरुङलाई नयाँ जिम्मेवारी दिइने सहमतिसँगै अधिकारीले बिदा लिनेछन् ।
त्यस्तै, राष्ट्रियसभाको संसदीय दलको नेता दिननाथ शर्मा बनाउने सहमति भएको छ । उनी तत्कालीन माओवादीका तर्फबाट दलका नेता थिए । प्रमुख सचेतक भने आईतबार बेलुकीसम्म टुंगो लाग्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्