नेविसंघको उम्मेदवारी दर्ता २८ गते, निर्वाचन २९ मा हुने


२६ साउन । नेपाल विद्यार्थी संघ (नेविसंघ)को जारी ११ औँ महाधिवेशनको बन्दशत्र बिहीबारबाट सुचारु हुने संकेत भएको छ ।

विभिन्न जिल्लामा प्रतिनिधिको विवाद कायमै रहेपछि तीन दिनदेखि बन्द रहेको बन्दशत्र बिहीबारबाट सुचारु हुने संकेत देखिएको हो । नेतृत्व विवाद भएका जिल्लाहरुमा छानविन गर्ने र आवश्यक देखिए खालि गर्ने सहमतिसहित नेतृत्व अघि बढ्न सहमत भएपछि बन्दशत्र सुरु हुने संकेत देखिएको नेविसंघले जानकारी दिएको छ ।

नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक सहयोग एवं निर्देशन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित ५ सदस्यीय नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले पनि पत्रकार सम्मेलन गरी बन्दशत्र सुरु गर्ने जानकारी दिएको छ ।

कांग्रेस मुख्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै समितिले २८ गते उम्मेदवारी दर्ता र २९ गते निर्वाचन गर्ने जानकारी दिएको छ । बन्दशत्र भने बिहीबारबाट सुरु हुने छ । नेविसंघको ६४ जिल्लामध्ये ११ जिल्लामा विवादका कारण नेतृत्व चयन गरिएको छैन । नेतृत्व चयन भइसकेका थप १३ जिल्लामा पनि विवाद कायमै छ ।

पत्रकार सम्मेलनमा विद्यार्थी नेता बन्न उमेर हद तोकिएको पनि जानकारी दिइएको थियो । ३२ बर्षभन्दा बढी उमेरका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघमा उम्मेदवारी दिन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्