नेविसंघमा चुनावी चहल–पहल, एक अध्यक्षका लागि एक दर्जनको दाबी


२१ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं अधिवेशन नजिकिदै गर्दा चुनावी चहल–पहल पनि व्यापक बनेको छ ।

भृकुटी मण्डपमा उद्घाटन र बन्दशत्र पनि त्यहीँ हुने भएकाले अहिले भृकुटी मण्डप र आसपासकको क्षेत्रको चहल–पहल समेत व्यापक बन्दै गएको छ । जिल्ला–जिल्लाबाट प्रतिनिधिहरु समेत राजधानी आउने क्रम सुरु भएपछि प्रतिनिधि फकाउन उमेदवारहरुको दौडधूप पनि बाक्लै बनेको छ ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसकै अगुवाईमा गठित निर्देशन समितिले विधान पारित गरिसकेकाले अझ अघिवेशनको चहल–पहल व्यापक बनेको छ । ‘६४ जिल्लाको प्रतिनिधि विवाद टुंगिएको छ,’ नेवि संघका प्रवक्ता यूपी लामिछानेले भने, ‘११ जिल्लामा केही नमिलेको अवस्था थियो, त्यो पनि हामीले पार्टीलाई यस्तो–यस्तो समस्या हो, भनेर बुझाएका छौँ, त्यसैले अब अधिवेशन हुने निश्चित भएको छ ।’

‘२५ वर्षको अवधिमा अहिलेसम्म ९वुटवल, विराटनगर, चितवन र प्रजातान्त्रिकको नेपालगञ्ज) चारवटा मात्र महाधिवेशन सम्पन्न भए,’ अधिवेशनसँगै देश दौडाहामा जुटेका अध्यक्षका उम्मेदवार जीतजंग बस्नेतले भने, ‘नियमित अधिवेशन भएको भए अहिलेसम्म १२ जना अध्यक्षको जिम्मेवारी पूरा हुने थियो । अहिले नवौँ पटक महाधिवेशन मिति घोषणा भएको छ । अब यो महाधिवशेनको उद्घाटन र बन्दशत्र मात्र होइन, चिर्वाचनबाटै नेतृत्व छनोट हुनुपर्छ ।’

अध्यक्षका अर्का उम्मेदवार मनोजमणी आचार्य पनि अधिवेशन नरोकिने दाबी गर्छन् । ‘हामीले यो महाधिवेशनलाई एकताको महाधिवशेनका रुपमा लिएका छौँ,’ नेविसंघका पूर्वमहामन्त्री मनोजमणि अचाचार्यले भने, ‘पार्टी नेतृत्वले नै छ महिनाभित्र सबै भ्रातृ संगठनलाई महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । यो पटक महाधिवशेन रोकिन्न ।’

लामिछानेले अधिवेशन हुने निश्चित भएकाले पनि अहिले उमेदवारहरुको प्रचार–प्रसार तीव्र भएको जानकारी दिए । ‘६० प्रतिसत प्रतिनिधि अहिले राजधानी आइपुगेको अवस्था छ,’ लामिछनेले भने, ‘तीन हजारलाई बस्ने र करिब ३५ सयलाई बिहान–बेलुकाको खाना खुवाउने व्यवस्था हामीले मिलाएका छौँ, अब अधिवेशन हुन्छ–हुन्छ ।’

विभिन्न माग राख्दै अनशनमा बसेकाहरुलाई पनि मिलाएर अधिवेशनमा जाने तयारी भएको लामिछानेको भनाई छ । पार्टी सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि अनशनमा बसेको कुन्दन काफ्ले समुहले अनशन तोड्ने तयारी गरेकाले पनि अझ सहज हुने देखिएको छ ।

नेविसंघ केन्द्रीय समितिभित्र पनि विवाद

अधिवेशन सम्पन्न गर्ने सन्दर्भमा भूमिका नदिएको भन्दै अध्यक्ष रंञ्जित कण समूहका मनोहरी श्रेष्ठ, लेखनाथ पोख्रेल समुह विद्रोह गरी अर्को पक्षमा लाग्ने तयारीमा जुटेको बुझिएको छ । नेविसंघ भित्र आफ्नो पक्षमा बाजी मार्ने भन्दै पार्टी नेताहरु पनि विभाजित भएका छन् । आ–आफ्नो समुहको टिकट वितरणदेखि आफ्नो समूहलाई चुनाव जिताउने कसरतमा उनीहरु लागेका छन् ।

अधिवेशनपछि मन्त्री छान्ने देउवा तयारी

जानकारी अनुसार सभापति शेरबहादुर देउवाले नेविसंघ अधिवेशन अघि नै प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको सूची पठाउँदा त्यसको असर अधिवेशनम पर्ने र आफ्नो समूहले हार्ने डरले मन्त्रीको सूची नै अधिवेशनपछि पठाउने तयारी गरेका छन् ।

गुट परिवर्तन गरि देउवा पक्षमा लागेका पूर्व अध्यक्ष र प्रभावशाली युवा नेताहरु चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल लगायतले मन्त्री बन्न नपाए वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिताउने चेतावनी दिएपछि देउवा हच्किएको बुझिएको छ । ‘त्यसकारण पनि सभापति देउवाले नेविसंघ अधिवेशन पछि मात्र मन्त्री छान्ने तयारी गर्नुभएको हुनसक्छ,’ नेवि संघकै एक नेताले भने ।

आफ्नो समूहलाई जिताउ पाँच पूर्वअध्यक्षलाई पौडेलले दिए जिम्मा

पौडेल समूहले आफ्नो पक्ष जिताउनका लागि नेविसंघका पाँच जना पूर्व अध्यक्षलाई जिम्मा लगाएको छ । पाँच सदस्य समितिले आफ्नो समूहको प्यानल जिताउनको लागि छलफल थालेको छ । ।

कुन समूहबाट को–को उमेदवार ?

सभापति देउवा पक्षबाट अध्यक्षमा जितजंग बस्नेत, नैनसिंह महरले दाबी गरेका छन् । वरिष्ठ नेता पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्य, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, दिपक भट्टराईले दाबी गरेका छन् । तेस्रो समूह अर्थात कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्लेले अध्यक्षको दाबी गरेका छन् । खुमबहादुर खड्का पक्षले पनि अध्यक्षमा उमेदवार तय गरेको छ । खड्का समूहबाट शुभराम बस्नेतले अध्यक्षको दाबी गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा वाल्मिकि क्याम्पसका पूर्वसभापति लक्ष्मण आचार्यले पनि उमेदवारी घोषणा गरेका छन् । महामन्त्रीमा मोतिलाल भण्डारी, उर्मिला थपलीया, मनोज वैद्य लगायत एक दर्जन भन्दा बढिले दाबी गरेका छन् ।

१५१ सदस्यीय केन्द्रीय समिति

अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एकरएक जनागरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एकरएक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताउनुभयो । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।

पूवअध्यक्षहरुको समर्थन कसलाई

नेविसंघका १७ जना पूर्वअध्यक्षमध्ये देउवा प्यानलमा ८ र पौडेल प्यानलमा ९ जना देखिन्छन् । नेविसंघको इतिहास केलाएर हेर्दा महाधिवेशन आयोजक समितिका संयोजक रञ्जित कर्णलाई १७ औँ अध्यक्ष मान्नुपर्छ । तत्कालीन सभापति सुशील कोइरालाबाट नियुक्त कर्ण पौडेल निकट मानिन्छन् ।
तीमध्ये पौडेल समूहमा पाँचौं अध्यक्ष बलबहादुर केसी, नवौँ अध्यक्ष गोविन्द भट्टराई, १२ औँ अध्यक्ष गुरुराज घिमिरे, १३ औँ अध्यक्ष केशव सिंह, १४ औँ अध्यक्ष महेन्द्र शर्मा, १५औँ अध्यक्ष प्रदीप पौडेल र १६ औँ अध्यक्ष कल्याण गुरुङ छन् भने हाल राजनीतिबाटै निस्क्रिय रहेका संस्थापक अध्यक्ष विपीन कोइरालाले पनि पौडेल प्यानलकै उम्मेदवारका पक्षमा छन् ।

नेविसंघका दोस्रो अध्यक्ष शेरबहादुर देउवा भइहाले । त्यसबाहेक तेस्रो सभापति विमलेन्द्र निधि, चौथो अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, छैटौँ अध्यक्ष बालकृष्ण खाँण, सातौँ अध्यक्ष एनपी साउद, आठौँ अध्यक्ष धनराज गुरुङ, १० औँ अध्यक्ष विश्वप्रकाश शर्मा र ११ औँ अध्यक्ष किशोरसिंह राठौर देउवाका पक्षमा छन् । देउवासहित आठ पूवअध्यक्षको समर्थन देउवा पक्षका उम्मेदवारलाई हुने देखिन्छ ।

‘नेविसंघ भनेको कांग्रेसको नर्सरी हो,’ संघका पूर्वमहामन्त्री आचार्य भन्छन्, ‘त्यसैले करिब ९ वर्षपछि हुन लागेको महाधिवेशनमा नेतृत्वको रस्साकस्सी चल्नु स्वाभाविक हो ।’

१७ अध्यक्षमध्ये चार केन्द्र बाहिर

नेविसंघले ४५ वर्षको इतिहासमा १७ जना अध्यक्ष पाएको छ । तीमध्ये नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कमिटीमा १३ जना छन् । महेन्द्र शर्मा र रञ्जित कर्णले चुनाव हारे भने केशव सिंह उम्मेदवार नै बनेनन् । विपीन कोइराला राजनीतिमै सक्रिय छैनन् । तीबाहेकका बाँकी सबै कांग्रेसको केन्द्रीय समितिमा छन् ।
०२७ वैशाख ६ गते नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठनका रुपमा स्थापित नेविसंघले ४५ वर्षमा जम्मा १० वटा महाधिवेशन गरेको छ । ‘नेविसंघ भनेको कांग्रेसको नर्सरी हो,’ संघका पूर्वमहामन्त्री आचार्य भन्छन्, ‘त्यसैले करिब ९ वर्षपछि हुन लागेको महाधिवेशनमा नेतृत्वको रस्साकस्सी चल्नु स्वाभाविक हो ।’
हालसम्मका अध्यक्ष 
१. विपीन कोइराला
२. शेरबहादुर देउवा
३. विमलेन्द्र निधि
४. ज्ञानेन्द्रबहादुर कार्की
५. बलबहादुर केसी
६. बालकृष्ण खाँड
७. एनपी साउद
८. धनराज गुरुङ
९. गोविन्द भट्टराई
१०. विश्वप्रकाश शर्मा
११. किशोरसिंह राठौर
१२. गुरुराज घिमिरे
१३. केशव सिंह
१४. महेन्द्र शर्मा
१५. प्रदीप पौडेल
१६. कल्याण गुरुङ
१७. रञ्जित कर्ण

प्रतिक्रिया दिनुहोस्