नौ महिने म्यादी सरकारले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा रातभर निद्रा लागेनः बाबुराम भट्टराई


१५ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा।बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको दाबी गरे ।
संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै भने– ‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उहाँले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोडदिए ।
प्रचण्डले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्ैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाउनुभयो

अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्