न्यायाधीश नियुक्ति प्रकरणप्रति राप्रपा असन्तुष्ट, मध्यरातमा गरेको निर्णय सच्याउन माग


 २९ पुस  ।  उच्च अदालतको ८० जना न्यायाधीश नियुक्तिमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको हालिमुहाली भएपछि व्यवस्थापिका संसद्मा ३७ सिट रहेको राप्रपाले तिव्र असन्तुष्टि व्यक्त गरेको छ ।

राप्रपाले शुक्रबार विज्ञप्ति नै निकालेर असन्तुष्टि व्यक्त गरेको हो ।  सत्ताको डाडूपन्यूँ आफ्नै हातमा रहेको र परिषद्मा प्रतिनिधित्वसमेत रहेको मौका पारेर दुवै पार्टीले भागबण्डामा न्यायाधीश नियुक्तिको सिफारिस गरेपछि राप्रपाले न्यायलयमा भएको भागबण्डाको समेत आलोचना गरेको छ । ‘स्वतन्त्र, स्वच्छ र निष्पक्ष हुनुपर्ने न्यायालयमा पार्टीको भागवण्डाको आधारमा भएको उच्च अदालतका न्यायाधीश नियुक्ति प्रकरणप्रति  राष्ट्रिय प्रजातन्त्र पार्टी घोर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उसले राजनीतिक पार्टीको भागवण्डामा हुने त्यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यताको उपहास हुने समेत ठहर गरेको छ । ‘उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि मध्यरातमा भएको निर्णयमा पुनर्विचार गर्न राप्रपा माग गर्दछ,’ विज्ञप्तिमै भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्