पचपन्न वर्षमा गुरुङले पाइन नागरिकता


बेँसीशहर, १७ असोज । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरेका छन । सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी हुन ।

दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी थिइन। “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले भनिन । उनको २०३८ सालमा विवाह भएको हो । विसं २०५३ देखि उनका श्रीमान वेपत्ता भएका थिए । “मसँग विवाह दर्ता र नागरिकता थिएन । मेरो त जिन्दगी सकियो । दुई छोरा छन् । उनीहरुको जिन्दगी मैले गर्दा अन्धकारमा बित्यो । आजदेखि छोराको भविष्यको ढोका खुल्यो,” नागरिकता प्राप्त गरेपछि गुरुङले भनिन ।

गुुरुङका जेठो छोरा २४ वर्ष तथा कान्छा छोरा २१ वर्षका छन। उनीहरुले नागरिकता नहुँदा केही गर्न सकेका थिएनन् । गुरुङका ८३ वर्षीय बुबा कुलबहादुर गुरुङ छोरीले नागरिकता पाएपछि औधी खुशी छन । बेलायती सेनाबाट सेवानिवृत्त उनले भने, “छोरी र नातिको पीर थियो, अब एकमुठ्ठी सास सजिलै जानेभयो ।” प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुरुङलाई नागरिकता प्रदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्