पत्रकारमाथि खनिए गभर्नर, पत्रकारलाई पेशै छाड्न चेतावनी


३१ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले पत्रकारलाई राम्रा समाचार नलेख्ने हो भने पेशा नै छाड्न चुनौती दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार राजधानीमा आयोजना गरेको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । ‘विश्वको उदाहरण हेर्ने हो भने सबैभन्दा बढी पढेलेखेकाले पत्रकारिता गर्ने गरेका छन्,’ नेपालले भने ‘तर नेपालमा विषयवस्तुको ज्ञान नभएका र कम पढेलेखेकाले पत्रकारिता गरेकाले नेपालको पत्रकारिता नै बदनाम भएको छ ।’

उनले पत्रकारितालाई चौथो अङ्ग भन्नुको कारण पत्रकारितामा शक्ति भएकाले हो भन्दै नेपालमा भने दुरुपयोग भएको दाबी गरे । करिब १५ मिनेट बोलेका नेपालले सम्बोधनको सम्पूर्ण समय पत्रकारलाई गाली गर्नमै खर्च गरेका थिए । ‘मलाई पत्रकार साथीहरुले लेखेका समाचार पढेर लाज लाग्छ,’ उनले भने ‘अति निकृष्ट भएर समाचार लेख्नुभन्दा पत्रकारिता पेशा नै छाडेर हिँडे हुन्छ ।’

उनले अन्य देशहरुमा समाचारकै कारण ठूला–ठूला लडाइँहरु सफल भएको उदाहरण प्रस्तुत गर्दै भने– ‘नेपोलियन बोनापार्टलाई थोरै सैनिकको साथ थियो तर पत्रकारले दिएको साथकै कारण उनले आफूलाई निकै शक्तिशाली बनाएका थिए ।’ उनले लण्डनका जँड्याहा प्रधानमन्त्रीको समेत उदाहरण प्रस्तुत गरेका थिए । ‘नेतृत्व गर्ने व्यक्तिलाई खुइँल्याउने चलन नेपालमा मात्रै छ,’ नेपालले भने ‘सम्पादकले त्यसलाई ठोक भन्दा त्यही समाचार लेख्ने पत्रकारले पत्रकारिता नगर्दा नै ठीक हुन्छ ।’

उनले पत्रकारिता विश्वविद्यालयमा प्राध्यापन गर्नेको अध्ययन जस्तै भएको भन्दै आचारसंहिताको पालना नगर्नेलाई पत्रकारिता गर्ने छुट नहुने व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अघि सारे । ‘धम्की दिएर समाचार लेख्दा केही पाइन्छ भन्ने सोच्नुभएको छ भने तपाईंहरु ध्यान दिएर सुन्नुहोला,’ उनले भने ‘हामीजस्ता व्यक्ति पनि छौँ । हामी धम्की दिएर समाचार लेख्दा केही पनि दिँदैनौं, बरु त्यस्ता पत्रकारलाई ‘नोटिस’मा राख्छौँ ।’ गभर्नर नेपालले आफूले महत्वपूर्ण समाचारको सूचना दिँदासमेत पत्रकारले नलेखेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्