पत्रकारसँग प्रचण्डको आग्रह– ‘दलीय स्वार्थ नराखी संविधान कार्यान्वयनमा सहयोग गर्नुहोस्


१३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनका लागि सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गरेका छन् ।

प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् । उनले संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगतलाई अपिल पनि गरे ।

उनले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको भन्दै कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उहाँले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उनले बताए ।

सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रमजीवि पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताए । उनले तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताए ।

कार्यक्रमका अध्यक्ष एवम् प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले सङ्गठनलाई गतिशील बनाएर नयाँ भावनासहित अगाडि बढाउने विश्वास दिलाए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्