पदाधिकारी दावी गर्ने मन्त्री बनेपछि देउवालाई सजिलो, खुमबहादुरलाई वेवास्ता


काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल फर्कनासाथ पार्टीमा रिक्त पदाधिकारी मनोनयन गर्ने बुझिएको छ । पदाधिकारीका आकांक्षीमध्येका केहीलाई मन्त्री बनाएर पठाएपछि उनका लागि मनोयन सहज भएको छ ।
स्रोतका अनुसार, आकांक्षी धेरै भएकै कारण पदाधिकारी मनोनयन गर्न नसकेका देउवाले मन्त्रिमण्डल विस्तारपछि मात्र यो काम गर्ने योजना वनाएका थिए । तर, मन्त्रिमण्डल विस्तारको भोलिपल्टै उपचारका लागि बाहिर जानुपरेकाले पदाधिकारी मनोनयनको काम केही दिन लम्बिएको हो ।

सभापति देउवा निकट स्रोतका अनुसार, उनले पदाधिकारी मनोनयन गर्न सजिलो होस् भनेरै बालकृष्ण खाँड र डा. प्रकाशशरण महतलाई मन्त्री बनाएका हुन् । मन्त्री हुनुअघिसम्म खाँडले महामन्त्रीमा दावी गरेका थिए भने महतले सहमहामन्त्री र पार्टी प्रवक्ताको दावी गरेका थिए । ती दुबैलाई मन्त्री बनाएर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउन लागेको स्रोतको दावी छ । त्यस्तै मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरमध्ये एकलाई सहमहामन्त्री बनाउने पनि स्रोतले बतायो ।

उपसभापतिको लफडा कायमै

उपसभापतिको लफडा भने अझै टुंगिसकेको छैन । महाधिवेशनअघि भएको सहमति पालना गर्दा एकातिर खुमबहादुर खड्कालाई उपसभापति बनाउनैपर्ने बाध्यता छ भने अर्कातिर पछिल्लो समयमा भारतसँग सम्बन्ध निर्माण गर्न खेलेको भूमिका र स्वयम् भारतको चाहना पूरा गर्न पनि बिमलेन्द्र निधीलाई नै उपसभापति बनाउनुपर्ने दोहोरो बाध्यतावाट उम्कन देउवालाई अप्ठेरो परेको बताइन्छ ।

स्रोतका अनुसार, सुरुमा देउवाले खड्कालाई उपसभापति बनाउने बाटो खुला गर्नकै लागि निधीलाई उपप्रधानमन्त्री बनाएका थिए । तर, देउवाको पुरानो गुट र भारतले समेत उपसभापति निधीलाई नै बनाउन दवाव दिएकाले देउवाले कुनै निर्णय लिन सकेका छैनन् । जुनसुकै अवस्थामा निधीलाई नै उपसभापति बनाउनुपर्ने भएका खड्कालाई महामन्त्री बनाएर कार्कीलाई सहमहामन्त्रीमा चित्त बुझाइदिन आग्रह गर्ने एउटा विकल्प रहेको पनि देउवा निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्