परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने एमालेको मिसन कायम छः महासचिव पोखरेल


१७ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन खबरदारी गर्ने बताएका छन् ।

नेकपा (एमाले)का पोखरेलले विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने– ‘मोर्चा मात्र बदलिएको हो, मिसन बदलिएको छैन ।’ उनले  पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन देशव्यापी रुपमा खबरदारी गराउने पनि बताए ।

‘संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमानले उठेको शिर झुक्न नदिने, छिमेकीहरुसितको शताब्दीदेखिको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने, परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्नेमिसन अहिले पनि कायम छ,’ उनले भने ‘यो मिसन एमालेको होइन, देशको हो भनेर सरकारलाई कार्यान्वयन गर्न एमालेले दबाब दिन्छ ।’

उनले  चाडपर्वका अवसरमा पनि पार्टीका विचारका पक्षमा छलफल गर्ने उल्लेख गर्दै चाडपर्वहरु कुनै एक जाति, धर्म सम्प्रदाय, क्षेत्रबीच मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा पुर्खाले निर्माण गरेका सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा राखे ।

कार्यक्रममा सचिवहरु पृथ्वी सुब्बा, योगेश भट्टराई, स्थायी कमिटी सदस्य शंकर पोख्रेल, कार्यालय  प्रमुख कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्