परराष्ट्र सचिवलाई प्रधानमन्त्रीको निर्देशन– ‘हलवाईको शव छिटो नेपाल ल्याउनुहोस्’


३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् । परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूतावासलाई प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।  प्रधानमन्त्रीको निर्देशनलगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीले दिएको निर्देशनको जनकारी गराएका थिए ।

बैरागीले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूतावासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन–चार दिनभित्रै शव नेपाल आउने विश्वास दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्