परवेज मुसर्रफको मोदीलाई चेतावनी– ‘पाकिस्तान पाकिस्तान है, नेपाल और भूटान नहीं है’


१२ असोज । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानलाई नेपाल र भुटान जस्तो नसम्झिन चेतावनी दिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग विशेष कुराकानी गर्दै मुसर्रफले भारतीय प्रधानमन्त्री मोदीलाई यस्तो चुनौती दिएका हुन् ।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका कारण एक महिनापछि हुने सार्क शिखर सम्मेलन अनिश्चित भइरहेको बेला पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफले मोदीलाई चुनौती दिएका हुन् । भारतले पाकिस्तानको राजधानी इस्लामावादमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर बैठकमा भाग नलिने निर्णय गरिसकेको अवस्थामा उनको त्यस्तो भनाइ बाहिर आएको हो ।

कुनै समय भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानका राष्ट्रपति नवाज शरीफलाई जन्मदिनको शुभकामना दिएको स्मरण गराउँदै मुसर्रफले भनेका छन् ‘नवाज शरीफलाई जन्मदिनको शुभकामना दिन आउने अनि पाकिस्तानलाई दुनियाँभर बदनाम गराउने कुरा ठीक होइन ।’

खुसी हुँदा पाकिस्तान आउँछन् मोदी

मुसर्रफले भारतीय प्रधानमन्त्री मोदी खुसी हुँदा पाकिस्तान आउने र सरीफलाई जन्मदिनको बधाइ दिने अनि सार्क सम्मेलनमा नआउने कुराको पनि विरोध गरेका छन् । ‘आफ्नो खुसीमा मोदी भारत आउँछन्,’ उनले भनेका छन्, ‘एकातिर नवाज सरिफको जन्मदिनमा शुभकामना पनि दिन्छन्, फेरि अर्कोतिर पाकिस्तानको दुनियाँभर बदनाम गर्छन् ।’ मुसर्रफले भारतीय प्रधानमन्त्रीले पाकिस्तानप्रति दोहोरो रवैया देखाएको आरोप पनि लगाएका छन्, ‘भारत असल मुद्दाका बारेमा वार्ता चाहँदैन,’ उनले भनेका छन् ‘भारत झगडा चाहिरहेको छ, मोदीले झगडा चाहेका छन् । तर, याद रहोस् पाकिस्तान पाकिस्तान नै हो, नेपाल अथवा भूटान होइन ।’

मुसर्रफले पूर्वप्रधानमन्त्रीहरु अटलविहारी वाजपेयी र मनमोहन सिंहसँग कस्मिरको मामिलामा समाधान खोज्ने प्रयास भएको स्मरणसमेत गरेका छन् ।  ‘तर, भारत कस्मिरको समस्या समाधानमा छैन,’ उनले भनेका छन् ‘भारत ठूलो देश हो तर उसको दिल सानो छ । हिन्दुस्तान सबैलाई दबाएर राख्न चाहन्छ ।’

जस्ता छन् मोदी, उस्तै विदेशमन्त्री

मुसर्रफले भारतीय प्रधानमन्त्री मोदी जस्ता छन्, विदेशमन्त्री सुष्मा स्वराज पनि उस्तै भएको आरोप लगाएका छन् । ‘भारतीय प्रधानमन्त्री मोदी जस्ता छन्, विदेशमन्त्री सुष्मा स्वराज पनि उस्तै छिन,’ उनले भनेका छन् ‘मोदीकी विदेशमन्त्री स्वराज पनि पाकिस्तानलाई गाली गर्छिन् । उनीहरु कस्मिर समस्या समाधान होस् भन्नेमा छैनन् ।’

प्रतिक्रिया दिनुहोस्