परिवार दलले पनि सूर्य चिह्न लिएर चुनाव लड्ने


२१ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) को चुनाव चिन्ह लिएर चुनाव लड्नेमा परिवार दल पनि थपिन पुगेको छ । यसअघि, राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठीसहित सो दलका नेताहरुले पनि आगामी निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने टुंगो गरेका थिए । साथै, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि सूर्य चिन्ह लिएर उठ्ने संकेत गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले एमालेसँग चुनावी गठबन्धन गर्ने भएसँगै सूर्य चिन्ह लिने भएको हो । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ । राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको जनाइएको हो ।

सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसदभित्र भने एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन् ।

एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्