पर्यटकीय बसपार्क सोह्रखुट्टेमा,दैनिक १०० बस आवतजावत


काठमाडौँ, १६ असार । पर्यटकिय गाडीहरु कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले कान्तिपथ पर्यटकीय बसपार्क सोह्रखुट्टेमा सारिएको छ । तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको पर्यटकिय वसपार्क शनिवारवाट सोह्रखुट्टेमा सारिएको हो । कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए । उनका अनुसार दैनिक हजारौ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सार्ने काम भएको हो ।

हाल पर्यटकीय बसपार्कबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक करीब तीन हजार यात्रु ओहोरदोहोर गर्छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताए । उनले भने, सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्